बुटवल- प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा बुधबार साँझ उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै उनले कसैप्रति भेदभाव, प्रतिशोध र असमान दृष्टि नराखी आफ्नो कार्यकाल सफलतापूर्वक चलाउन कोशिस गर्ने बताए।
‘मलाई कसरी चलाउने अनुभव केही छैन। तपाईहरुबाट सिक्नुपर्ने छ,’ प्रदेशका मन्त्रीहरुलाई इंगित गर्दै उनले भने, ‘तपाईहरुबाट सिक्नुपर्ने छ। सिक्दै र सहयोग लिदै काम गर्नेछु।’
प्रदेश प्रमुख यादवले काँधमा जिम्मेवारी आएसंगै मस्तिष्कमा समझदारी र काममा इमानदारी देखाउनुपर्ने बताए। तिनका आधारमा प्रदेशलाई नमुना बनाउन र चुनौतीहरु पार गर्न सबैबाट सहयोग लिएर अघि बढ्ने उनले जनाए।
प्रदेश ५ को प्रमुखमा नियुक्त भएका यादव सिरहाका नेता हुन् । एमाले पृष्ठभूमिका ७६ वर्षीय यादव लामो समयसम्म शिक्षण पेसामा आबद्ध थिए । २०२७ देखि २०४८ सम्म स्थानीय विद्यालयमा पढाएका उनी २०४८ को संसदीय निर्वाचनमा सिरहा १ मा उम्मेदवार थिए तर चुनाव हारे । तत्कालीन एमालेको अनुशासन आयोगको सदस्य रहेका उनी प्रदेश प्रमुखहरूमध्ये सबैभन्दा ज्येष्ठ हुन् ।