काठमाडौं । नेपाल बाल संगठनको जग्गा भाडा प्रकरणमा जिल्ला अदालत काठमाडौंले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धानका लागि अनुमति माग्दै पक्राउ पुर्जी लिएको हो।
प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएकाहरूमा संगठनका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत जिम्मेवार पदाधिकारीहरू रहेको सिआइबी स्रोतले जनाएको छ।
यस्तै, जग्गा भाडामा लिने वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का पदाधिकारी तथा सञ्चालनहरू पनि छन्।
बाल संगठनको नक्सालस्थित २८ रोपनी ५ आना १ पैसा जग्गा व्यापारिक घराना विशाल ग्रुपले भाडामा लिएर बदनियत राखी अनन्तकालसम्मको सम्झौता गरेको आरोप छ।
जहाँ विशाल ग्रुपले वृहस्पति स्कुल सञ्चालन गर्न विसं २१३२ सम्म सहमति लिएको छ। सङ्गठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको सिआइबीले जनाएको छ।