दाङ–राप्ती नदी तर्न डुंगा चल्थ्यो। सय वर्षअघि पनि मानिसले डुंगा खियाएर वारीपारी गर्थे। डुंगा बनाउने र खियाउने दुवै काम उतिबेलाका ‘थारु’ले गरेका थिए। अहिले त राप्ती नदीमा पुल बन्यो। अझैं चार ओटा पुल बन्दै छन्।
डुंगा खियाउने चलन हरायो। डुंगा पछि पटेलाको चलन आयो। त्यो पनि हरायो। सय वर्ष अघि थारु पुर्खाले बनाएको डुंगा दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरा थारु संग्रहालयमा प्रदर्शनीमा राखिएको छ।
खेतमा फलेको धान बेच्न बजार पुर्याउनुपर्थ्यो। बोकेर लैजान टाढा पर्थ्यो। गोरु र रांगाले हिडाउन मिल्ने लडिया बर्दियामा खुबै चल्थे। अहिले त ट्याक्टर आयो। सबै सामान ट्याक्टरले बोक्छ। गाउँमा त्यसै कुहिएर जान थालेको लडिया संरक्षण गर्न चखौरामा राखिएको छ। थारु समुदायको कला संस्कृतिसँग जोडिएका गहना थुप्रै छन्। तीन/चार सय प्रकारका गहना थिए। ती गहना अहिले खोजेर भेटिदैनन्।
लोप हुन थालेको थारु गरगहना संग्रहालयमा राखिएको छ। थारु समुदायको पोशाकको पनि उत्तिकै महत्व छ। अहिले त ती पोशाक लगाउने मान्छे भेट्न गाह्रो छ। तर, संग्रहालयमा आउनेलाई थारु पोशाक लगाउन दिइन्छ। एकछिन पुरुषले ‘भेगुवा’ र महिलाले ‘लेहंगा’ लगाउछन्। अनि सेल्फी र फोटो दुवै लिन्छन्। अनि रमाउछन्।
थारु समुदायको लोपोन्मुख कला, संस्कृति र सम्पदाको संरक्षण गर्न चखौरामा बृहत संग्रहालय बनाइएको छ।
थारु अगुवा तथा प्रदेश ५ प्रदेश सभा सदस्य डिल्ली चौधरीको संरक्षकत्वमा र योजनाका आधारमा चखौरामा बृहत थारु संग्रहालय निर्माण गरिएको हो।
यो संग्रहालयमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्मका थारु समुदायका कला, संस्कृति र सम्पदा संरक्षण गरेर राखिएको संग्रहालयका संरक्षक तथा प्रदेश सभा सदस्य डिल्ली चौधरीले बताए।
‘दंगीशरण राजाका पालादेखिका कला संस्कृतिलाई समेटेर संग्रहालय बनाइएको हो। यो संग्रहालयलाई थारु संस्कृति, सम्पदा र सभ्यता अध्ययन गर्ने स्रोत केन्द्र बनाउने लक्ष्य छ’–उनले भने–‘अहिले दाङदेखि पश्चिम सम्मका थारुको सम्पदा यहाँ राखेका छौं। अबको दुई वर्षभित्र पूर्व मेची देखि पश्चिम महाकाली सम्मका थारुहरुको सम्पदा यहाँ राखिने छ।’
द्वापर युगसँग जोडिएका र ईतिहास झल्काउने सम्पदाको खोजी गरिएको र भेटिएका सबै सामग्रीलाई संग्रहित गरिएको छ। थारु पुर्खा गुरुवा (उतिबेलाका डाक्टर)को काम गर्थे। मानिसलाई रोग व्याधीले च्याप्यो भने औषधी गर्थे। ती कलाकौशललाई मूर्तिमा उतारिएको छ।
संग्रहालय प्रवेश गर्ने गेट नजिकै ठूलो कदको थारु राजा दंगीशरणको शालिक बनाइएको छ। त्यसपछि अलि पर जाँदा थारु पुर्खा (महतौं) को पूर्ण कदको सालिक छ।
अनि दाङको भूगोल सहितको नक्सा पनि सँगै छ। अझैं यो संग्रहालयलाई जीवन्त बनाउने काम चलिरहेको थारु विज्ञ श्रमलाल चौधरीले बताए।
जीवित थारु संस्कृतिलाई प्रत्यक्ष अवलोकन गर्न सकिने पनि बनाइएको छ। ‘थारु समुदायको लोपोन्मुख नाच प्रत्यक्ष हेर्न पाइने व्यवस्था पनि गर्दै छौं’–चौधरीले भने–‘थारु संस्कृतिको अध्ययन गर्ने एउटा तालिम केन्द्र नै बनाउने योजना छ ।’
कोरोना भाइरसका कारण बन्द
सरकारले लकडाउन गरेपछि चखौराको थारु संग्रहालय पनि बन्द भयो। लकडाउन हुनु अघि महिनामा ८ देखि १० हजार पर्यटक अध्ययन अवलोकनका लागि चखौरा पुग्ने गरेका थिए। अहिले लकडाउन भएपछि संग्रहालय बन्द गरिएको छ।
राष्ट्रिय संग्रहालय खुलेपछि चखौराको संग्रहालय पनि खोलिने थारु सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष राजेश चौधरीले जानकारी दिए। ‘अवलोकनको लागि संग्रहालय बन्द गरिएपनि त्यहाँ भित्र अन्य संरचना बनाउने काम चलिरहेको छ’–उनले भने–‘प्रदेश ५ सरकारको सहयोगमा संग्रहालयको सबलीकरण गरिएको छ।’