काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मिलेमतो गरी करिब ४१ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पाँच कर्मचारी, ठेकेदार कम्पनी म्याक्स इन्टरनेसनल र त्यसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अकबर हुसेनसमेतलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दर्ता गरेको हो।
केन्द्रका कार्यकारी निर्देशक पौडेल र म्याक्सका सिइओ हुसेनको आपसी मिलेमतोमा सार्वजनिक खरिद कानुनविपरीत खरिद कार्य गरेको भेटिएको अख्तियारको दाबी छ। म्याक्सलाई नै ठेक्का पर्ने गरी बोलपत्रको मापदण्ड तयार गरिएको अख्तियारको दाबी छ।
खरिद प्रक्रियामा संलग्न भएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल, केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ र वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ।
केन्द्रकै तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ। म्याक्स इन्टरनेसनल र कम्पनीका सिइओ हुसेनविरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको छ।
सेक्युरिटी प्रिन्टिङका लागि आवश्यक उपकरण खरिद र पूर्वाधार निर्माण गर्दा ६९ करोड रुपैयाँ घोटाला भएको ठहर गर्दै अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध गत वर्ष ३ वैशाखमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यो मुद्दा अझै विशेष अदालतमा विचाराधीन छ।