बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी कार्तिक २४ गते अर्थात् ९ नोभेम्बरबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । हप्ताकोे सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौं हुँदै दुबई उडान गर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भूलले कार्तिकदेखि फ्लाई दुबई भैरहवा उडान भर्न तयार रहेको जानकारी दिनुभयो ।
फ्लाई दुबई जहाज दुबईबाट दिउँसो एक बजेर ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ । भैरहवाबाट पौने ३ बजे काठमाडौं प्रस्थान गरेर काठमाडौँमा साढे ३ बजे पुग्ने छ । काठमाडौंबाट साढे ४ बजे दुबई उड्ने छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि एकतर्फी उडान भएपनि भैरहवाबाट दुबई जानेलाई सहज हुने भूलको भनाइ छ । भैरहवाबाट दुबई जान चाहनेले काठमाडौँमा एक घण्टा मात्र ‘ट्रान्जिट’मा बसे हुन्छ । फलाई दुबई यूएईको राष्ट्रिय ध्वजावाहाज वायुसेवा हो ।
यसैबिच कुवेतको जजिरा एयरवेज फेरि भैरहवा आउँदैछ । जजिराले कार्तिक १२ गते अर्थात् अक्टोवर २८ बाट जजिराले कुवेत–भैरहवा–कुवेत उडान गर्न लागेको हो । विमानस्थलबाट उडानका लागि जजिराले सोमबार नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ । हप्तामा ३ दिन जजिराको जहाज बिहान ६ बजेर २५ मिनेटमा भैरहवा आएर ७ बजेर १० मिनेटमा कुवेत उड्ने भुलले बताउनुभभयो । जजिराले सुरुमा राति २ बजे आएर ३ बजे फर्किने गरी उडान गर्न खोजेको थियो । दुई वर्षअघि २०७९ जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो ।
भैरहवा र पोखरा हिमालयले न्यरोबडी उडाउने
निजी वायुसेवाका साना विमानमा यात्रुको चाप तथा टिकट सहजै नपाइने भएपछि काठमाडौंबाट भैरहवा र पोखरामा हिमालय एयरलायन्सले पनि उडान गर्ने भएको छ । हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दसैँअघि उडान गर्ने योजना रहेको बताउनुभयो ।