बुटवल–२०५८ सालमा गुल्मीको जनसंख्या २ लाख ९६ हजार ६ सय ५४ थियो। १० वर्षमा गुल्मीको जनसंख्या साढे १६ हजारले घट्यो। २०६८ सालको जनगणना अनुसार गुल्मीमा स्थायी बसोबास गर्नेको संख्या २ लाख ८० हजार १ सय ६० रहेको छ।
गुल्मी मात्र होइन पाल्पा र अर्घाखाँचीमा पनि त्यसैगरी जनसंख्या घटेको देखिन्छ। अर्घाखाँचीमा २०५८ मा जनसंख्या २ लाख ८ हजार ३ सय ९१ थियो। १० वर्षपछिको जनगणना २०६८ मा ११ हजारले घटेर १ लाख ९७ हजार ६ सय ३२ मा झर्यो। त्यसैगरी पाल्पामा १० वर्षमा साढे ७ हजारले जनसंख्या घटेको छ। २०५८ मा २ लाख ६८ हजार ५ सय ५८ रहेको पाल्पाको जनसंख्या २०६८ मा २ लाख ६१ हजार १ सय ८० मा झरेको थियो।
तीब्र बसाइसराइका कारण प्रदेश ५ का पहाडी जिल्लाहरुमा जनसंख्या घटेको हो। यी जिल्लाबाट विकासमा तीब्र फड्को मार्दै गएको रुपन्देही जिल्लामा बसाइसराइ गरेर आउने गरेका छन्। रुपन्देहीबाहेक नवलपरासी र कपिलवस्तुमा पनि बसाइसराइ भएर आउनेको संख्या बढी छ।
२०५८ सालपछि मुलुकमा १० वर्षे द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो। त्यसबेला धेरैले बाध्यताले आफ्नो थातथलो छोडे र तराई तिर बसाइसरे। २०६२–६३ को शान्ति प्रक्रियापछि जग्गाको तीब्र कारोबारले बसाइसराइ बढायो।
जग्गाको कारोबारका क्रममा वैदेशिक रोजगारीमा रहेका धेरैले तराइमा जग्गा किने घर बनाए। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले मुलुकमा अस्थीरता भएको बेला पहाडी जिल्लाबाट तराइतिर बसाइसराइ गर्ने क्रम बढेका बताउँछन्। ‘द्वन्द्वकालले पनि केही बसाइसराइ बढायो, शान्ति सम्झौतापछि जग्गाको कारोबार बढ्दा यहाँबाट सरेर जाने पनि धेरै भए’–उनले भने–‘एक डेढ वर्ष यता भने त्यसरी बसाइ सर्ने कम छन्।’
पराजुलीले स्थानीय तहको चुनाबपछि गुल्मीबाट बसाइ सरेर जाने दर कम भएको बताए। ‘चुनाबपछि गाउँगाउँमा गतिविधि बढ्यो, विकासले गति लियो । पालिकाहरुमा केन्द्र स्थापित भयो । बैंकहरु खुले–उनले भने–‘गाउँमै विकास बढेपछि अरु जिल्लामा बसाइ सरेर जाने कम छन्।’
बुटवल बहुमुखी क्याम्पसका जनसंख्या विषयका उपप्राध्यापक दुर्गा भुसालले पनि मुलुक संघीय प्रणालीमा गएपछि जनसंख्या वृद्धि दरमा केही प्रभाव पर्न सक्ने बताउँछन्। ‘विकासको सन्दर्भले रिटर्न माइग्रेसनको कन्सेप्ट पनि आउन थालेको छ। कोभिडले पनि त्यसमा बल पुर्याएको छ’–उनले भने–‘बाटोघाटो खुल्ने, बैंकहरु जाने बजारको विस्तारीकरण हुँदा रोजगारीको अवसर गाउँतिर आयो भने एक थरी मान्छेहरु त्यसरी फर्किन पनि सक्छन्।’
यस्तै रुपन्देही लगायतका तराइका जिल्लाको जनसंख्या तीब्र बढेको छ। पछिल्लो जनगणना अनुसार रुपन्देहीको जनसंख्या १० वर्षमा १ लाख ७२ हजारले बढेको छ। २०५८ सालमा रुपन्देहीको जनसंख्या ७ लाख ८ हजार ४ सय १९ रहेकोमा २०६८ सालमा ८ लाख ८० हजार १ सय ९६ पुगेको छ। यही तरिकाले बढ्ने हो भने एकवर्षपछिको जनगणनामा रुपन्देहीमा ११ लाख भन्दा बढी जनसंख्या पुग्ने अनुमान गरिएको छ। स्थायी बसोबास बाहेक पनि ठूलो संख्यामा अस्थायी बसोबासीको संख्या पनि रुपन्देहीमा छ।
बुटवल र भैरहवा रुपन्देहीका ठूला शहर हुन्। त्यसबाहेक तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिकामा पनि बसाइसराइ वृद्धिदर तीब्र बनेको छ। गाउँपालिकाका केन्द्रहरुमा पनि बस्ती घना बन्दै गएको छ। द्वन्द्वकाल र शान्ति प्रक्रियापछि जग्गाको कारोबार बढ्दा रुपन्देहीमा बस्ती तीब्र रुपमा थपिँदै गएको हो। त्यस अघि पनि रुपन्देहीमा जनसंख्या वृद्धिदर बढी नै छ।
२०३८ को जनगणनाअनुसार रुपन्देहीको जनसंख्या ३ लाख ७९ हजार ९६ थियो। हाल १० लाख भन्दा बढी भएको अनुमान छ। यसरी हेर्दा ४० वर्षमा रुपन्देहीको जनसंख्या तेब्बर बढेको मान्न सकिन्छ। यस बीचमा २०४८ मा ५ लाख २२ हजार १ सय ५० पुगेको थियो। २०६८ को पछिल्लो जनगणनाअनुसार काठमाडौ र मोरङपछि रुपन्देही बढी जनसंख्या भएको तेस्रो जिल्ला हो। बुद्धजन्मस्थल लुम्बिनी, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय सभाहलले पनि रुपन्देहीमा बसाइसराइ गरेर आउनेहरुको आकर्षण थपेको छ। रुपन्देहीबाहेक अन्य तराइ जिल्लाहरुमा पनि जनसंख्या वृद्धिदर तीब्र बनेको छ।
पछिल्लो जनगणनालाई हेर्दा २०५८ देखि २०६८ सम्मको १० वर्षमा नवलपरासीमा (हालका दुवै जिल्लालाई समेटेर) ८० हजार, कपिलवस्तुमा ९० हजार, दाङमा ९० हजार, बाँकेमा एकलाख ६ हजार र बर्दियामा ४४ हजारले जनसंख्या वृद्धि भएको देखिन्छ। पहाडी जिल्लाहरुमा जनसंख्या वृद्धिदर कम छ। जनसंख्या विषयका उपप्राध्यापक दुर्गा भुसालले रोजगारी, पेशा व्यवसाय जोडिएको स्थानमा जनसंख्या वृद्धि हुने बताउँछन्। ‘मानिसहरुले आफूलाई कहाँ सजिलो हुन्छ। आफूलाई त्यही बसाल्न खोज्छ’–उनले भने।