बुटवल-बुटवलका औषधी पसलहरुमा आइतवार अनुगमन गरिएको छ। कोरोना महामारी फैलिएसंगै मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सुरक्षाका सामग्रीहरुको चर्को मूल्य लिने गरेको गुनासो आएपछि बुटवल उपमहानगरपालिकाले अनुगमन गरेको हो।
औषधी तथा अस्पतालजन्य वस्तुका सप्लायर्सहरुले मास्क तथा सेनिटाइजरको चर्को मूल्य लिनुका साथै कृतिम अभावसमेत सिर्जना गर्न थालेपछि अनुगमन गरिएको हो।
उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक तथा उपप्रमुख गोमादेवी आचार्यको नेतृत्वमा गरिएको अनुगमनमा औषधी सप्लायर्सहरुले सामानमा चर्को मूल्य लिने गरिएको पाइएको थियो।
केही औषधी सप्लायर्सले भने अनुगमन समिति आउने थाहा पाएपछि बन्द गरिएका थिए। अनुगमनको क्रममा औषधी पसलमा मास्क तथा सेनिटाइजरको मूल्य चर्को लिने गरेको पाईएको उपप्रमुख आचार्यले बताए।
व्यापारीहरुले सामान खरिद गरेर लिएको मूल्यभन्दा धेरै नाफा खाएको पाइएपछि पहिलोपटकलाई सचेत बनाएर छोडिएको आचार्यले बताए। पहिलोपटकलाई सम्झाएर छोडिएको र फेरिपनि चर्को मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने उनले बताइन्।
उपप्रमुख आचार्यसंगै वाणिज्य कार्यालयका प्रमुख हरि शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, उपभोक्ता हित संरक्षण मन्च प्रदेश ५ का अध्यक्ष तेजकुमार पाठक, बुटवल उपमहानगरपालिका बरिष्ठ अधिकृत भुवाप्रसाद लुइंटेल, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरलगायतको टोलीले अनुगमन गरेको थियो।