बुटवल । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडक खण्डको एक दर्जन बढी स्थानमा पहिरो झरेको छ । पहिरोका कारण आवागमन प्रभावित भएको छ भने सडक सुचारु गराउन सुरक्षाकर्मी र स्वयंमसेवकहरु परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१ गर्जेनी स्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४ पाखुरी खोलामा पहिरो झरेको छ । नौवहीनी गाउँपालिका–७ कालिमाटी स्थित मैरामारे देखी बल्लेखोला जाने भित्री सडकमा पहिरो झरेको छ ।
अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास–रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ उर्लेनी, गुल्मीदरबार गाउँपालिका–४ को वीरबास र छत्रकोट गाउँपालिका–३ को लुम्छामा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
त्यसैगरी रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्डमा पर्ने सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा जलसतह बढेको र चन्द्रकोट गाउँपालिका–८ को मजुवा बजार नजिकै बाघ खोलामा सडकमाथिबाट पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि सडकसमेत अवरुद्ध बनेको हो ।
साथै कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटमा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पूर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । हाल सडक सञ्चालनका लागि पहल भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
अर्घाखाँचीको पाणेनी गाउँपालिका–२ सालझण्डी ढोरपाटन सडक, गोरुसिंगे–सन्धिखर्क सडक दुई स्थानमा पहिरो झरेको छ । रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो झरेको छ । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, दाङ सल्यान राप्ती राजमार्ग, घोराही लमही–सडक खण्डको सेवार खोलामा जलसतह बढेकाले आवागमनमा समस्या परेको छ । पहाडी जिल्ला अर्घाखाँचीका केही स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको छ ।
सन्धिखर्क–११ धारामाथी वस्ने जुद्ध बहादुर नेपालीको घर अविरल वर्षाको कारण जोखिममा परेपछी परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । शितगंगा नगरपालिका–७ जुवाकोट बस्ने दिलबहादुर सार्कीको टिनले छाएको २ तले क्च्चीघर छेउमा जमिन भासिनुका साथै घरमा क्षती पुगेको छ । आठ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यसैविच लुम्बिनी प्रदेश सरकारले विपद् प्रतिकार्य योजनामा जुट्न अपिल गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले अविरल बर्षाका कारण निम्तन सक्ने विपद्को प्रतिकार्यमा जुट्न अपिल गर्नु भएको हो । तीन वटै सुरक्षा निकाय, नागरिक स्वंयमसेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको र सहयोग गर्न जनस्तरमा अपिल गर्नु भएको छ ।
‘जो जहाँ छौं सुरक्षित बसौं । आफ्नो आसपासमा भइरहेका प्राकृतिक विपद्को बारेमा चनाखो बनौं । कही कतै विपद् आईपरेको खण्डमा आफु सुरक्षित भएर खोज तथा उद्धारको कार्यमा पनि परिचालित हुन अपिल गर्दछु’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘यो विपद्को वेलामा एकले अर्कालाई सहयोग गर्न जरुरी छ । सहयोग र हातेमालोबाट विपद्बाट हुने क्षतीलाई कम गर्न सकिन्छ ।’
लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको हाल सम्म बाढीका २८ वटा घटना घटेका छन् । जसमा परेर ९ जनाको मृत्यु भएको छ भने ४ जना घाईते र ८ जना वेपत्ता छन् । पहिरोका २१ वटा घटना घटेका छन् । जसमा परेर ८ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आगलागीका ४८ वटा घटना भएका छन् ।
जसमा परेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका थिए । चट्याङका १७ वटा घटना भएका छन् । जसमा परेर ४ जनाको मृत्यु भएको छ भन् २२ जना घाईते भएका छन् । पानीमा डुबेर ४८ जनाको मृत्यु भएको छ भने ७ जना घाईते र एक जना वेपत्ता छन् । मानव सिर्जित विपद्का घटनाहरुले मानवीय क्षती बढी गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थिले बताउनु भयो ।
लुम्बिनी प्रदेश भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका विपदको उच्च जोखिममा छ । विपदले सबैलाई समान रुपमा असर गरेपनि यसबाट पर्ने प्रभाव व्यक्ति, परिवार रसमुदायको उत्थानशिलता, अनुकुलन क्षमता र संकटासन्नताको आधारमा असमान हुने, विद्यमान अवस्थामा सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिक र राजनीतिक पहुँचमा कमी भएका समुदाय तुलनात्मक रुपमा बढी प्रभावित हुने अवस्था छ ।
यस्तो अवस्थाबाट पार पाउनका लागी लुम्बिनीमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण रणनीति कार्ययोजना समेत निर्माण गर्न थालिएको छ ।