काठमाडौँ । कपनको श्याल्पा गुम्बास्थित हिमालयन हेरिटेज रिट्रिटमा अन्तर्राष्ट्रिय शान्ति दिवस–२०८१ मनाइएको छ । ‘विश्वव्यापी शान्ति पर्व’ले विश्वव्यापी सद्भाव र अहिंसाको सशक्त सन्देशसहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाएको हो ।
भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वव्यापी शान्ति अभयारण्य निर्माणका लागि सचेतना र समर्थन गर्न आयोजित कार्यक्रमले विश्वभरका शान्ति दुत, कूटनीतिज्ञ र सांस्कृतिक व्यक्तित्वहरुलाई एकै थलोमा सहभागी भएका थिए ।
कार्यक्रममा एकता र शान्तिको भावनालाई जोड दिने उद्देश्यले परम्परागत नेपाली नृत्य र नाट्य प्रस्तुतिसहित जीवन्त सांस्कृतिक प्रर्दशनहरु समेत प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा आध्यात्मिक गुरु श्याल्पा तेन्जिन रिन्पोछेले यस क्षणलाई सुपयोग गर्न र शान्तिलाई मौलिक जन्मसिद्ध अधिकारका रुपमा लिन आग्रह गर्नुभयो । उहाँले शान्ति मानिसको जन्मसिद्ध अधिकार भएको बताउनुभयो ।
‘हामी शान्तिलाई सामान्य रुपमा लिन्छौँ । एक पारस्परिक जिम्मेवार व्यक्तिको हैसियतमा हामी आफूलाई बुद्धिमान र परिष्कृत ठान्छौँ’, उहाँले भन्नुभयो, ‘यदि हामीले हरेक पल अर्को क्षण नभएको जस्तो गरी बाँच्ने प्रयास गरेनौ भने, हामीले शान्तिको वास्तविक अर्थ बुझेका छैनौ ।’
शान्तिको माध्यमबाट मात्र विश्वमा दिगो समाधानको खोजी गर्न सकिनेमा उहाँले जोड दिनुभयो । ‘विभिन्न धर्मलम्बीहरुको आआफ्ना गन्तव्य स्थान छन् तर विश्वमा शान्ति अपरिहार्य छ र त्यो एक मात्र शान्तिको गन्तव्य मात्र नेपालको लुम्बिनी हो ।’ उहाँले भन्नुभयो । विश्वमै लुम्बिनीलाई एक मात्र शान्तिको गन्तव्य बनाउन विश्वशान्ती धाम निर्माणमा आफु लागि परेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनीमा निर्माणाधीन युनिभर्सल सिस स्याङ्क्चुरीको प्रगति विवरण बारे जानकारी दिर्दै उहाँले यस परियोजनामा सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा बुद्धनीलकण्ठ नगरपालिकाका नगरप्रमुख विभिन्न देशका राजदूतहरू, कूटनीतिज्ञहरू, समाजसेवीहरू र युनिभर्सल पीस स्याङ्क्चुरीका सदस्यहरुकोे उपस्तिथि रहेको थियो ।
कार्यक्रममा भगवान बुद्धकी आमा मायादेवीको जीवन र निस्वार्थ मायाको योगदानबारे विशेष चित्रण गरिएको मायादेवी साङ्गीतिक नाटक पनि प्रस्तुत गरिएको थियो । शान्ति, करुणा र मानवीय समझदारीको माध्यमबाट मात्र युद्ध र द्वन्द्वको विकल्प खोज गर्न सकिने बताउँदै युनिभर्सल पीस स्याङ्क्चुरीको मुख्य उद्देश्य यहि रहेको योजनाका मुख्य अगुवा रिन्पोछेले बताउनु भयो ।