बुटवल । बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा निमार्णाधीन सुरुङ मार्गमा दुई वटा बाइपास ‘ब्रेक थ्रू’ गरिएको छ । सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका अनुसार तीनवटा बाइपासमध्ये पहिलो र तेस्रो बाइपास ‘ब्रेक थ्रू’ गरिएको हो । गत भदौ २६ गते १३० मिटर लम्बाइको तेस्रो बाइपास र असोज ४ गते १५१ मिटर लम्बाइको पहिलो बाइपास ‘ब्रेक थ्रू’ गरिएको सुरूङमार्ग आयोजना प्रमुख इन्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।
अहिले मुख्य सुरुङ खन्ने काम पनि धमाधम भइरहेको छ । कुल १ हजार १२६ मिटर लामो सुरुङमा हालसम्म झण्डै आधा खन्ने काम सकिएको छ । हालसम्म दुवैतर्फबाट गरी सुरूङमार्गको ५४५.५७ मिटर लम्बाइ खनिएको छ । उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको आयोजना प्रमुख इन्जिनियर ज्ञवालीले जानकारी दिनुभयो । १६१ मिटर लम्बाइको दोस्रो बाइपास ११७ मिटर खनिएको छ । आयोजनाको कुल भौतिक प्रगति २२.८५ प्रतिशत हुँदा वित्तीय प्रगति २६.४ प्रतिशत भएको आयोजनाले जनाएको छ ।
बाह्रैमहिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउन ४ माघ २०८० बाट सुरुङ खन्ने काम औपचारिक रुपमा सुरु भएको थियो ।
आयोजनामा गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । सुरुङ मार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । ‘ब्लास्टिङ’ गर्न थालेपछि तीव्र रुपमा काम अघि बढेको आयोजना प्रमुख इन्जिनियर ज्ञवालीको भनाइ छ । अबको केही दिनभित्र दोस्रो बाइपास पनि छेड्नेगरी तीब्र रुपमा काम भइरहेको इन्जिनियर ज्ञवालीले बताउनुभयो ।
बहुप्रचारित सुरुङमार्गलाई आगामी मंसिर मसान्तसम्ममा ‘ब्रेक थ्रू’ गर्ने लक्ष्यका साथ काम भइरहेको छ । बिस्फोट गर्ने समयमा सीमित अवधिका लागि मात्र सवारी आवगमन बन्द गरेर चिनियाँ र नेपाली प्राविधकहरुले धमाधम काम गरिरहेका छन् । कुनै आपत सिर्जना नभए अबको तीन महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य पूरा हुने आयोजनाको दाबी छ ।
यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) ले गरिरहेको छ । यो आयोजनाको २०७८ साल फागुनमा सीएससीइसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने सर्त छ ।
यो सडकलाई तराई र पहाड जोड्ने लाइफलाइन सडक मानिन्छ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायात साधन चल्ने गर्छन् । हरेक जसो हिउँद वर्षा जहिले पनि पहिरो गएर सवारी साधनमाथि झर्ने र जनधन क्षति पु¥याएपछि यसको सुरक्षाको विकल्प खोजिएको थियो । सुरक्षाको एउटा विकल्पमध्ये सुरुङ मार्ग हो । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ ।