बुटवल । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गर्नुभएको छ । उहाँले वर्तमान सरकार बनेसँगै नागरिकमा आशाको सञ्चार भएको पनि बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले राजश्व परिचालन, पुँजीगत खर्च लगायतका आर्थिक ईण्डिकेटरहरु सकारात्मक देखिएको बताउनु भएको हो । मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएको बताउँदै स्थिरता, विकास र समृद्धिको लागि संसदका दुई ठूला दलहरु काँग्रेस र एमाले एक ठाउँमा आएको बताउनु भयो । ‘वर्तमान समीकरण र सहयात्रा बाँकी कार्यकाल वा पूरा अवधिसम्म जान्छ, राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा पनि सरकारको ध्यान केन्द्रित रहेको छ’, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो ।
सरकार जनताका समस्या समाधान गरेर अघि बढ्ने बतानुहुँँदै आशातीत भएर लगानी गर्न उद्योगीलाई आग्रह गर्नुहुँदै उहाँले सरकारले व्यावसायिक समस्या समाधान गर्न नीतिगत स्थिरता कायम हुनेगरी काम गरिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो । अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएको प्रतिकूलतालाई अनुकूल बनाउन प्रयत्नशील रहेको बताउनुभयो । उहाँले विकास र समृद्धिका लागि राष्ट्रिय र स्थानीय अभिभारा पूरा राष्ट्रिय रूपमा निजी क्षेत्रले भोगेका समस्या समाधान गर्न सरकार प्रयत्नरत रहेको स्पष्ट पर्नुभयो । ‘निजी क्षेत्रसँग संवाद र आशा बढेको छ । निराशा र प्रतिकूलताको ओरालो यात्रा रोकिएको छ’, उहाँले भन्नुभयो, ‘निराश हुने हैन आशावादी र समस्या समाधान हुन्छन् भनेर अघि बढ्ने हो । सरकारले सोहीअनुसारका काम गरिरहेको छ ।’
उहाँले बुटवल पूर्वपश्चिम र उत्तर दक्षिणको समेत ट्रान्जिक्ट भएकाले राम्रो सम्भावना रहेको दावी गर्नुभयो । उहाँले यहाँका उद्योगी व्यवसायीलाई तत्कालै केही भएन भनेर मन साँघुरो नबनाउन समेत आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले राष्ट्रिय अभिभारा पुरा गर्न र आफू निर्वाचित भएको क्षेत्रको विकास र समृद्धिका लागि समेत आफू प्रतिवद्ध रहेको बताउँदै निर्माणाधिन बुटवल–नारायणगढ सडक चाडो पुरा हुने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउनेगरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले राजनीतिक अस्थिरताकै कारण बुटवलको मोतिपुर औद्योगिक क्षेत्रले सही रूपमा आकार ग्रहण गर्न नसकेको उल्लेख गर्नुभयो । ‘औद्योगिक क्षेत्रको काम रोकिएको नभएर केही विलम्ब मात्र भएको हो । अब समस्या नभएका जग्गाका प्लट बनाएर निजी क्षेत्रलाई वितरण गर्ने गरी काम अघि बढाउने सरकारले आवश्यक काम गरिरहेको छ । निर्माणाधीन बुटवल–नारायणगढ र बुटवल–चनौटा सडक विस्तार, तिनाउमा सिग्नेचर ब्रिज, बुटवलको चौराहा गोलपार्क सडक, सिद्धबाबा सुरुङ मार्गको निर्माण सम्पन्न र गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनपछि रुपन्देही देशकै आर्थिक केन्द्र बन्ने विश्वास लिएका छौँ’, अर्थमन्त्री पौडेलको भनाइ थियो । यस्तै लुम्बिनी प्रादेशिक अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले पनि रुपन्देहीको विकासमा टेवा पुर्याउने उहाँले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका हिसावले सात प्रदेश मध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सम्भावना रहेको बताउनु भएको छ । उहाँले मुलुकमा नीतिगत स्थायित्व नभएका कारण लगानीकर्तामा कन्फिडेन्स विल्डप नभएको पनि बताउनु भयो । ‘नीतिगत स्थायित्व भएन भने कन्फिडेन्स विल्डप गर्न सकिँदैन ।’ उहाँले भन्नुभयो–‘अहिले नीतिगत अस्थिरता छ, म अर्थमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, अर्थमन्त्रीका रुपमा तपाईलाई पाएपछि केही भएपनि आशा जाग्रित भएको छ, लगानीकर्तालाई कन्फिडेन्स विल्डप गराउनु होला ।’
सरकार र नीजि क्षेत्रको सहकार्यमा भएका लगानी सम्मेलनपछि लगानी डिस्करेज गरेका आठवटा कानुन सुधार भएको बताउँदै उहाँले लगानी निरुत्साहित गरेका अझै धेरै कानुन सुधार गर्न आवश्यक रहेकाले त्यसमा ध्यान दिन पनि मन्त्री पौडेललाई आग्रह गर्नुभयो । पछिल्लो वर्ष नेपालमा लगानीको सम्भावना छ भनेर सन्देश दिनुपर्नेमा त्यसको उल्टो भाष्य बनेको बताउनुभयो । नेपालमा लगानीको सम्भावना छ भनेर सन्देश दिनको लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा ‘नेपाल पब्लिक एण्ड डेभलपमेन्ट आयोजना सञ्चालन गरिएको जानकारी गराउनु भयो ।
कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले शिलान्यास भएर रोकिएको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडी बढाउन, खुला सिमाका कारण नेपाली उद्योगी व्यवसायीलाई मार पर्नुको साथै राजश्वमा समेत प्रत्यक्ष प्रभाव गरेको बताउँदै सिमा नाकालाई व्यवस्थित र कडाई गराउन माग गर्नुभयो । त्यसैगरी विमाको दावी भुक्तानीमा समस्या रहेको बताउँदै सहज भुक्तानीको वातावरण बनाईदिन समेत उहाँले मन्त्री पौडेललाई आग्रह गर्नुभयो ।
त्यसैगरी बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले यो वर्ष विशेष गरेर बुटवलमा रात्रीकालिन बजार सञ्चालन, मोतिपुर औद्योगिक क्षेत्र निर्माण र समेलारमा यस क्षेत्रकै ठूलो कृषि उपज केन्द्र स्थापनालाई विशेष प्राथमिकता दिईएको जानकारी गराउनु भयो । उहाँले बुटवललाई पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्ने र भारतीय पर्यटकलाई बुटवल हुँदै मुक्तिनाथ पु¥याउनको लागि बुटवल–मुक्तिनाथ, बुटवल–गोरखपुर रुटको विकास गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले आगलागिको घटनाहरुबाट धेरै पाठ सिकाएको बताउँदै सुविधा सम्पन्न दमकलको आवश्यकता महसुस गरिएको बताउँदै त्यसको व्यवस्थापनको लागि अर्थमन्त्री पौडेललाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, संघका महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले यस क्षेत्रका आर्थिक तथा व्यवसायिक समस्या औल्याउँदै समाधानका लागि पहल गरिदिन अर्थमन्त्री पौडेललाई आग्रह गर्नुभएको थियो । त्यसै अवसरमा सहयोगी संघसंस्था तथा उद्योगी व्यवसायीलाई सम्मान गरिएको थियो ।