काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।
आयोडिनको कमीले गलगाड, थाइराइड, मानसिक र शारीरिक क्षमतामा कमीलगायत स्वास्थ्य समस्या हुन्छ । स्वास्थ्यसँग समेत जोडिएको अत्यावश्यक दैनिक उपभोग्य वस्तु भएकाले नुनको आयातमा साल्ट ट्रेडिङलाई एकाधिकार दिइएको छ ।
निजी क्षेत्र वा अन्य सरकारी निकायले नुन आयात गर्न पाउँदैनन् । आयातमा एकाधिकार पाएको ट्रेडिङले मूल्य समायोजनको नाममा एकैपटक ३० प्रतिशतले मूल्य बढाउनु उचित नहुने उपभोक्तवादीहरूले बताएका छन् ।