रोल्पा । रोल्पाको तालाबाङमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। एक नाबालकसहित पाँचजनाको घटनास्थलमै र दुईको उपचारको क्रममा ज्यान गएको हो। चार यात्रु गम्भीर घाइते छन्।
माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नम्बर ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जिपमा ११ जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो।
रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चार सय मिटर तल पुगेको स्थानीयले बताएका छन्।