तिलोत्तमा - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरको नक्सा अनलाइन अर्थात् इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरबाट पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। पेपरलेस नगरपालिकाको अवधारणाअनुसार अघि बढेको तिलोत्तमाले घर-नक्साको काम विद्युतीय नक्सा पास प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो।
नगरपालिकामा राजस्व भुक्तानीलगायतका विभिन्न सेवा प्रवाहका काम अनलाइनबाट हुँदै आएका छन्। छिटो-छरितो सेवा प्रवाहको साथै नगरबासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए। रुपन्देहीमा सबैभन्दा बढी नयाँ घर थपिने तिलोत्तमामा हाल दैनिक चार वटा नयाँ नक्सा दर्ता हुँदा दुई वटा घरको नक्सा पास हुने गरेको छ।
विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाईल बोकेर दौडिरहन नपर्ने नगरपालिकाका नक्सा शाखा प्रमुख मनिष खनालले बताए। उनका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरु सुरक्षित रहने तथा नगरलाई पनि तथ्याङ्क राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुनेछ ।
नगरपालिकाले सम्बन्धित शाखाका कर्मचारीलाई तालिमको साथैं कार्यालयमा सूचीकृत भएका ईञ्जिनियरिङ कन्सलटेन्सीका सञ्चालकहरुसँग अभिमुखीकरण कार्यक्रम गरेर नक्सा पासलाई अनलाईन प्रणालीमा लैजान थालेको हो। यो प्रणालीअनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने ईञ्जिनियर सन्तोष पाण्डेको भनाइ छ। यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने नगरपालिकाको विश्वास छ।
समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गराउँदै तिलोत्तमालाई स्मार्ट सहरको रुपमा विकास गर्ने योजना अन्र्तगत् विकास साझेदार निकायको सहयोगमा अनलाइन नक्सा पास प्रणाली थालिएको नगर प्रमुख घिमिरेको भनाइ छ ।
कसरी हुन्छ अनलाइन नक्सा पास ?
प्राविधिकहरुका अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरमा नक्सा पास गर्न कहाँ–कहाँ जाने भनेर ‘अप्सन’ र अप्सनमा विभिन्न डेस्क राखिएका हुन्छन्। ती डेस्कमा चरणबद्ध रूपमा गएपछि नक्सा पास गर्ने प्रक्रिया पूरा हुन्छ। प्रारम्भमा इजाजत प्राप्त व्यक्ति वा कन्सल्टेन्टलाई उपलब्ध गराइएको प्रोग्रामको ‘युजर आईडी र पासवर्ड’ अनुसार नक्सा पास गर्न चाहिने जग्गाको लालपुर्जा, नागरिकता, फोटो, सम्पत्ति कर तिरेको रसिद, नापीनक्साजस्ता घरजग्गासँग सम्बन्धित आवश्यक कागजपत्र स्क्यान गरेर सबै फाइल ‘एटयाच’ गरी पठाइन्छ।
डिजाइन डेस्कबाट डकुमेन्ट रजिष्ट्रेशन डेस्कमा आइपुग्छन् । जसमा लालपुर्जा, जग्गाको कित्ता नम्बर लगायत ईञ्जिनियरले जाँच गर्छन्। यसपछि ईञ्जिनियरले टेक्निकल डेस्कमा पठाउँछन्। जुन डेक्समा डिजाइन, भवन मापदण्ड तथा भवनसंहिता पूरा गरेको÷नगरेको हेरिन्छ। सबै ठीक भएपछि ‘एक्ज्युकेटिभ डेस्क’ मा पठाइन्छ जसमा छुटपुट छ वा छैन भनेर जाँच गरिन्छ। प्राविधिकहरुका अनुसार यदि तोकिएअनुसारको मापदण्ड पूरा भएको छैन भने सफ्टवेयरलाई त्यसलाई सपोर्ट गर्दैन । यसपछि ‘रेभिन्यु डेस्क’ हुँदै राजस्वमा गएपछि विधिवत दर्ता भई वडा डेस्कमा जान्छ। वडा डेस्कमा पुगेपछि १५ दिने सूचना टाँसगरी सँधियारको दाबीविरोध, प्राविधिकबाट नक्साअनुसारको फिल्डलगायत जाँच गरिन्छ। यी सबै प्रक्रिया पूरा गरी अन्तिम घर सम्पन्न प्रमाणपत्र दिनेसम्मका काम अनलाइन प्रणालीबाटै हुन्छ।