बुटवल । कोभिड–१९ लक्षित भनिएको लुम्बिनी प्रदेश सरकारको बजेटमा कोरोना महामारीको चपेटामा परी बेरोजगार बनेकाहरु लागि रोजगार सिर्जना गर्नु बजेटका प्राथमिकता मध्येको एक थियो । तर, रोजगारी सिर्जना गर्नसक्ने महत्वपूर्ण क्षेत्र मानिएको पर्यटनलाई बेवास्ता गरे झैं गरी प्रदेश सरकारले बजेट ल्याएको छ ।
बजेटका एकाध कार्यक्रमबाहेक अधिकांश शिर्षक लक्ष्य केन्द्रित छैनन् । बजेटको संस्कृति तथा पर्यटन शिर्षकभित्र अधिकांश बुँदामा ‘कार्यक्रम सञ्चालन गरिने छ’ त भनिएको छ तर, ती कार्यक्रम कस्ता हुने र सञ्चालन गर्न कति बजेट छुट्याइएको हो भन्ने कुरामा बजेट मौन छ ।
जस्तो कि बुँदा २३७ मा ‘प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक एवम् अन्य पर्यटकीय स्थलहरुको संरक्षण, सम्वद्र्धन र विकास गरिनेछ’ भनिएको छ तर कस्ता कार्यक्रम गरिने छ भन्ने कुराको गुञ्जायस पुरै बजेटमा छैन ।
यस्ता अमूक कार्यक्रहरु पर्यटनमा दोहोरिएर आएका छन् । त्यस्तै छ, बुँदा नं २४४ पनि । ‘प्रदेशमा रहेका धार्मिक तथा साँस्कृतिक महत्वका स्थलहरुको संरक्षणको लागि बजेटको व्यवस्था गरेको छु,’ त्यसमा भनिएको छ । तर, बजेटले कस्ता धार्मिक तथा साँस्कृतिक महत्वका स्थल कस्ता हुन् र संरक्षणमा कति खर्च गर्ने हो, त्यो भने भन्दैन ।
मंगलबार बजेट भाषण गर्दै आर्थिक पर्यटन तथा योजना मन्त्री बैजनाथ चौधरीले कोरोनाबाट शिथिल पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत पुनर्जागृत गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने बताए । त्यसका लागि ‘विभिन्न’ कार्यक्रम गरिने उनको बक्तव्य थियो । बरु सरकारले आन्तरिक पर्यटन प्रवर्धनका लागि ठोस कार्यक्रमका रुपमा कर्मचारीलाई ‘बिदा पर्यटन’ ल्याएको छ । आन्तरिक पर्यटनका लागि प्रोत्साहन गर्न प्रदेशका कर्मचारीहरुलाई शुरु तलब स्केल अनुसार एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउन आवश्यक व्यवस्था गरिएको छ ।
ढोरपााटनमा प्रवेशद्वार, बाह्रकुने दह, रुरु क्षेत्र तथा स्वर्गद्वारीमा पुराना आयोजनालाई निरन्तरता, प्रदेशमा ५० पर्यटकीय गन्तव्य पहिचान र ‘एक जिल्ला, एक पर्यटन गन्तव्य’ जस्ता बाहेक संकृति र पर्यटन क्षेत्रमा कार्यक्रमका शिर्षक तोकिएका छैनन् । बाँकी करिब सबै बुँदामा पर्यटन सम्बद्र्धन र विकासका लागि ‘कार्यक्रम’ सञ्चालन गरिने मात्र बताइएको छ ।
मन्त्री चौधरीले भने पर्यटनलाई रोजगारसँग जोड्ने गरी कार्यक्रमहरु तय गरिएको दावी गरे । उनले पर्यटनलाई प्राथमिकतामा राखेर नै बजेट ल्याइएको भन्दै पर्यटनको विस्तारिकरण र आन्तरिक पर्यटनको प्रवद्र्धन हुने गरी बजेट ल्याइएको बताए ।
बजेटमा सरकारले प्रदेशका प्रमुख ५० पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने बताएको छ । र, हरेक जिल्लामा आन्तरिक पर्यटन प्रवर्धन गर्न ‘एक जिल्ला,एक पर्यटन गन्तव्य’ कार्यक्रम सञ्चालन गर्ने भनेको छ । बजेटलाई हेर्दा पर्यटनमा राखिएका नयाँ कार्यक्रम यत्तिमात्रै हुन् । बाँकी सबै कि अमुक कार्यक्रम छन्, कि भने पुराना आयोजनाको निरन्तरता ।
मन्त्री चौधरीले पर्यटनसँग सम्बन्धीत पूर्वाधार निर्माणका केही कामहरु बहुबर्षीयका रुपमा सञ्चालन भएकाले तिनलाई पूर्णता दिइने खाले बजेट आएको बताए ।
बजेटमा तोकिएका ठोस कार्यक्रमहरु:
- ढोरपाटन शिकार आरक्षमा प्रवेशका लागि रुकुम पूर्वको उपयुक्त बिन्दुमा प्रवेशद्वार निर्माण गरी त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने
- बाह्रकुने दह, रुरु क्षेत्र तथा स्वर्गद्वारी पर्यटकीय पूर्वाधार विकास गर्न तयार भएका आयोजनाहरुको कार्यान्वयनलाई निरन्तरता दिन १९ करोड रुपैयाँ बजेट विनियोजन
- प्रदेशका प्रमुख ५० पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन प्रवद्र्धन गरिनेछ ।
- प्रदेशका सबै जिल्लामा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न ‘एक जिल्ला, एक पर्यटन गन्तव्य’ कार्यक्रम सञ्चालन गरिने
बजेटको संस्कृति तथा पर्यटन अंश:
कोरोनाबाट शिथिल पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटन प्रवर्धनमार्फत् पुनजागृत गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन सम्बन्धी विभिन्न कार्यक्रमको अतिरिक्त प्रदेशमा कार्यरत सबै कर्मचारीहरुलाई बिदा पर्यटन लगायतका कार्यक्रममार्फत् आन्तरिक पर्यटनका लागि प्रोत्साहित गरिनेछ । यसका लागि कर्मचारीहरुलाई सुरु तलब स्केल अनुसार एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
पर्यटन क्षेत्रको दिगो विकास र व्यवस्थापनको लागि यस आर्थिक बर्षमा प्रदेशको पर्यटन नीति तथा पर्यटन विकासको रणनीतिक गुरुयोजना निर्माण गरिनेछ । पर्यटन उद्योगको वर्तमान र भविष्यलाई लक्षित गरी आवश्यक सीपको पहिचान र आगामी पाँच बर्षको लागि आवश्यक पर्यटन जनशक्ति विकासको योजना निर्माण गरी कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
पर्यटन क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आर्थिक क्रियाकलापको माध्यमको रुपमा विकास गर्दै साहसिक पर्यटन, पर्यापर्यटन, माइस पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, कृषि पर्यटन, वन पर्यटन, खेलकुद पर्यटन, शैक्षिक पर्यटन, ग्रामिण पर्यटन लगायतका पर्यटन व्यवसायको विविधीकरण र विकास गरी प्रदेशमा रोजगारीको अवसर वृद्धि गर्ने कार्यक्र सञ्चालनका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छु ।
यस प्रदेशमा भ्रमण गर्ने पर्यटकहरु तिनको खर्च गर्ने शैली, स्तर, सन्तुष्टि जस्ता विषयमा अध्ययन अनुसन्धान गरी नयाँ पर्यटकीय उपजहरु समेटी पर्यटन विकासको प्याकेज तयार गर्ने व्यवस्था मिलाएको छु ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसारको माध्यमबाट प्रदेशमा पर्यटक आकर्षण गर्ने विशेष कार्यक्रम सञ्चालन गरिनेछ । पर्यटकीय सूचनालाई बिद्युतीय सूचनामा आवद्ध गरी पर्यटन प्रवद्र्धन गर्न आवश्यक स्रोतको व्यवस्था गरेको छु ।
प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक एवम् अन्य पर्यटकीय स्थलहरुको संरक्षण, सम्वद्र्धन र विकास गरिनेछ । विस्तृत आयोजना प्रतिवेदन तयार भएका आयोजनालाई क्रमशः प्राथमिकताका आधारमा कार्यान्वयनमा लैजान आवश्यक बजेट विनियोजन गरेको छु ।
ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टेहरुको प्रवद्र्धन र विकास गरिने छ । होमस्टे सञ्चालनको लागि प्रोत्साहन गर्ने, होमस्टेलाई सञ्चालनको लागि प्रोत्साहन गर्ने, होमस्टेलाई स्थानीय संस्कृति, भेषभुषा, मौलिकता र परम्परागत पेशा, अर्गानिक तथा घरेलु उत्पादनसँग आवद्ध गर्न र साँचो अर्थमा होमस्टे सञ्चालन गर्न सञ्चालकहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइको छु ।
पर्यटन क्षेत्रमा विशेष योगदान गर्ने, धेरै पर्यटक भित्र्याउने, पर्यटन प्रवद्र्धनमा क्रियाशील व्यक्ति, संघ÷संस्थाहरुलई प्रोत्साहन गर्न प्रदेश पर्यटन पुरस्कारको स्थापना गर्न बजेट छुट्याएको छु ।
आधारभूत स्तरबाटै प्रकृति, संस्कृति र पर्यटनका सम्बन्धमा विद्यार्थीहरुलाई समय सापेक्ष ज्ञान दिन विद्यालयस्तरमै पर्यटन कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।
प्रसिद्ध धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा जैविक विविधता समेतका दृष्टिले मनोरम प्राकृतिक क्षेत्रहरु गुफा, तालतलैया, झरना गढी, दरबार जस्ता महत्वूर्ण स्थानहरुको पर्यटन प्रवद्र्धन गर्ने कार्यलाई निरन्तरता दिंदै आवश्यक बजेट विनियोजन गरेको छु ।
ढोरपाटन शिकार आरक्षमा प्रवेशका लागि रुकुम पूर्वको उपयुक्त बिन्दुमा प्रवेशद्वार निर्माण गरी त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ । बाह्रकुने दह, रुरु क्षेत्र तथा स्वर्गद्वारी पर्यटकीय पूर्वाधार विकास गर्न तयार भएका आयोजनाहरुको कार्यान्वयनलाई निरन्तरता दिन १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छु ।
प्रदेशका प्रमुख ५० पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन प्रवद्र्धन गरिनेछ । प्रदेशका सबै जिल्लामा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न एक जिल्ला एक पर्यटन गन्तव्य कार्यक्रम सञ्चालन गरेको छु । प्रदेशमा सङ्ग्रहालयहरुको स्थापना र स्तरोन्नतिका लागि रकम विनियोजन गरेको छु ।