मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा अवस्थित नेपालकै ठुलो र गहिरो ताल रारामा पछिल्ला वर्षहरूमा यातायातमा पहुँच पुगेसँगै पर्यटकहरूको आवागमन दर बाक्लो हुनुका साथै रारा आएका पर्यटकहरू लाई घोडा सवार गर्ने निहुँमा जथाभाबी घोडाहरू निकुञ्जमा प्रवेश गर्दा राराताल आसपासका ठाउँहरूमा फोहोर पनि बढ्न थालेको छ ।
विशेष गरी रारा पुगेपछि पर्यटकको रोजाइको केन्द्रको रूपमा परिचित मुर्माटप हिमाल र मिली चौरमा बढी फोहोर हुने गरेको छ ।
फोहोर मैलाको उचित व्यवस्थापन गर्ने भरपर्दो माध्यम नहुँदा पर्यटकहरूले उपभोग गरेका बिस्कुट, चाउचाउ, मिनरल , बियरका बोतल, चकलेट, पेय पदार्थ, फ्रुटी लगायत अन्य प्रयोगमा आएका प्लाष्टिक र कागजहरू फोहोर फाल्ने खाल्डोमा नभई जथाभाबी फ्याँक्नाले दिन प्रतिदिन रारा आसपासका ठाउँहरूमा फोहोर बढ्दै गएको हो । केही बर्ष अगाडि रारा तालको चारैतिर स्वस्थ सफा वातावरण देखिएको थियो ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख राजु घिमिरेका अनुसार रारा आउने सबै पर्यटकहरू बाट प्रवेश शुल्क बापत रू एक सय लिइने र त्यतिखेर निकुञ्ज क्षेत्र भित्र कुनै प्रकारको फोहोर नगर्न आग्रह गर्ने गरिएको छ तर पनि केहीले बियर, कोकाकोला, फेन्टा लगायतका पेय पदार्थ उपभोग गरेका खाली बोतलहरू , चाउचाउ बिस्कुट परागका खोस्टाहरू जथाभाबी फ्याँक्नाले फोहोर हुने गरेको हो ।