लुम्बिनी । बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकारले विकास प्राधिकरण बनाउने तयारी गरेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित बृहत्तर लुम्बिनी योजना र विश्व शान्ति नगर कार्यान्वयनसम्बन्धि छलफल कार्यक्रममा संघ सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बुद्धस्थलहरुलाई समेटेर एकीकृत रुपमा विकासका लागि विकास प्राधिकरण बनाउने तयारी गरेको बताए ।
उनले तीन जिल्लाका बुद्धस्थलहरुलाई बृहत्तर लुम्बिनी क्षेत्रमा समेटेर छुट्टाछुट्टै गुरुयोजना निर्माण गर्ने र त्यसैअनुसारको एकीकृत रुपमा निर्माणको काम सञ्चालन गर्ने गरी प्राधिकरणको अवधारणा अघि बढाउन लागेको बताए ।
“यो ठूलो आयोजना हो, यसको बजेट झण्डै २ खर्ब हुन्छ । यसले बृहत्तर लुम्बिनी क्षेत्रका नागरिको सामाजिक, सांस्कृतिक परिवर्तमा ध्यान दिन्छ ,’ मन्त्री भट्टराईले भने– यसमा संघ, प्रदेश र स्थानीय तहको लगानी हुन्छ, दातृ निकायले लगानी गर्न चाहेमा पनि त्यही प्राधिकरणमा बजेट आउँछ र काम अघि बढ्छ ।” प्राधिकरण गठन गरेर लुम्बिनी क्षेत्रको विकासमा सहज हुने र छिटो निर्माणको काम पूरा हुने उनले बताए ।
सोही अवसरमा लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका पर्यटनमन्त्री भट्टराईले सरकारले अघि बढाउन खोजेको बृहत्तर लुम्बिनी क्षेत्रमा विश्व शान्ति नगर निर्माणका लागि सुझावको अपेक्षा गरेको बताए । सन् १९७८ मा जापनिज वास्तुकलाविद् केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना बाहिर २४ वर्गमाइलको क्षेत्रफलमा पर्ने गरी कोरियन प्रोफेसर क्वाकले शान्ति शहरको गुरुयोजना बनाएका थिए ।
शान्ति शहरको गुरुयोजनालाई अघि बढाउने या नबढाउने भन्ने विषयमा सरकारले लुम्बिनीमा छलफल गरेको हो । विज्ञहरुले सो गुरुयोजनालाई समयानुकुल परिमार्जन गरेर कार्यान्वयनमा लैजानुपर्ने बताइरहेका बेला संघ सरकारको पर्यटन मन्त्रालयले लुम्बिनीमा स्थानीय सरोकारवालासँग छलफल चलाएको हो ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका पर्यटन मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सांसदहरु, बुद्धस्थलहरु रहेका स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, व्यवसायीहरु र स्थानीयबासी सहभागी छलफलमा मन्त्रालयले शान्ति शहरबारे सुझाव मागेको थियो ।
स्थानीयले लुम्बिनी क्षेत्रमा अब अधिग्रहण गर्न नहुने भन्दै विरोध जनाएका छन् । उनीहरुले स्थानीयलाई विस्थापित गर्नेगरी कुनै योजना अघि नसार्न मन्त्रीलाई सुझाव दिए ।
क्वाकको गुरुयोजना तयार हुँदाको र अहिलेको राजनीतिक, सामाजिक परिवेश परिवर्तन भएको भन्दै त्यसबारे पुनःविचार गर्न सुझाव दिए ।
लुम्बिनी बाहिर साँस्कृतिक विशेषता सहितको शहर निर्माण गर्नुपर्छ : मुख्यमन्त्री
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीयलाई लाभ दिन लुम्बिनीमा साँस्कृतिक विविधता सहितको मिनी ठमेल निर्माण गर्नुपर्ने बताए ।
लुम्बिनी विकास कोषले लुम्बिनीमा आयोजना गरेको बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्तिनगरको कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनीको गुरुयोजना र लुम्बिनीका होटलले मात्रै स्थानीयलाई लाभ दिन नसक्ने बताउदै लुम्बिनी बाहिर सांस्कृतिक विशेषता सहितको शहर निर्माण गर्नुपर्ने धारणा राखे । “स्थानीय समुदाय आफै पर्यटन प्रबद्र्धनका हिस्सेदार बन्नुपर्छ ,त्यसका लागि लुम्बिनी बाहिर साँस्कृतिक विशेषता सहितको मिनि ठमेलको निर्माण आवश्यक छ ।” उनले भने । लुम्बिनी बाहिर मिनि ठमेल निर्माण हुन सके पर्यटकहरुको बसाई लम्ब्याउन सहज हुने उनको भनाइ थियो ।
मुख्यमन्त्री पोखरेलले सम्पदा प्रवद्र्धनका लागि जग्गा अधिग्रहण वा ल्याण्ड पुलिङ गरेर नक्शांकनको काम अगाडि बढाउन आवश्यक रहेको समेत बताए । उनले सैनामैनाको जोगिडाडा, देवदहको खयरडाडा जस्ता क्षेत्रको पुरातात्विक महत्व पहिचानका लागि पुरातत्व विभागको जनशक्ति सहितको कार्यालय लुम्बिनी क्षेत्रमा स्थापना गर्न आवश्यक रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले अहिलेसम्म लुम्बिनी बिकास कोष आफ्नो क्षेत्र भित्रको विकासमा मात्रै केन्द्रित रहेकाले गुरुयोजनाको काम पुरा भएपछि कोषले बाहिरको काममा ध्यान दिन सक्ने । “विकास निर्माणमा मात्रै कोष केन्द्रित हुने भने पर्यटन प्रवद्र्धन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्छ ।” उनले भने ।
कार्यक्रममा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सामाजिक र सांस्कृतिक विविधतालाई ध्यानमा राखेर बृहत्तर लुम्बिनी क्षेत्रको योजना बनाउने बताए ।
बृहत्तर लुम्बिनी क्षेत्रभित्र बौद्ध स्तुपा, मस्जिद, मन्दिर सबै हुने बताउदै उनले धार्मिक, साँस्कृतिक विविधतालाई ध्यानमा राखेर बुद्धको जिवनीसँग जोडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न क्षेत्रहरुको बिकास गर्ने बताए । “कुनै पनि बिकासका आयोजना अगाडि बढाउदा स्थानीयको जिवनस्तरमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरालाई विशेष जोड दिइन्छ ।”–उनले भने ।
राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले लुम्बिनी क्षेत्र वरपरको विकासमा संघीय सरकारले उचित ध्यान दिन नसकेको बताए । ३ वर्ग माइल क्षेत्रको विकासले मात्रै लुम्बिनीको विकास नहुने बताउदै उनले लुम्बिनीका स्थानीयको शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता आवश्यक रहेको धारणा राखे । धार्मिक सद्भावको नमुना शहरको रुपमा लुम्बिनीको विकास गर्न सकिने उनले बताए ।
प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ताले लुम्बिनीको विकासले मात्रै यो क्षेत्रको विकास नहुने बताए । बुद्धको जिवनीसंग सम्बन्धित धेरै क्षेत्रहरु कपिलवस्तुमा धेरै रहेपनि ती क्षेत्रहरुको उचित विकास हुन नसकेको धारणा राखे ।
प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले लुम्बिनीको विकास र समृद्धिका लागि स्थानीयको साथ र सहकार्य आवश्यक रहेको बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले स्थानीयकै चाहना बमोजिम विश्वविद्यालयले शैक्षिक गतिविधि अगाडि बढाउने बताए ।
प्रदेश सभाका सदस्य फखरुद्दिन खानले लुम्बिनी किासका सन्दर्भमा क्वाकको योजना लागू हुन नसक्ने बताए । लुम्बिनीको विकासमा स्थानीयको सहभागितालाई ध्यान दिन सुझाव दिदै उनले बाहिर बनाएर ल्याएको योजना कार्यान्वयन गर्ने नभई स्थानीयको आवश्यकताका आधारमा योजना बनाएर कार्यान्वयन गर्न आग्रह गरे ।
कार्यक्रममा बृहत्तर लुम्बिनी क्षेत्रको विकासबारे प्रस्तुतीकरण गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी)ले प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्न ग्लोबल टेण्डरको लागि प्रक्रिया अघि बढेको बताए । लुम्बिनीको विकासका लागि आवश्यक पर्ने लगानीको स्रोत पहिचान भइरहेको बताउदै उनले जनतामुखी र विकासमुखी काममा त्यसको लगानी गर्ने बताए ।
पूर्व वनमन्त्री मोहम्मद वकील मुसलमानले अब लुम्बिनीका नाममा जग्गा दिन स्थानीय तयार नहुने भएकाले थप जग्गा अधिग्रहणको योजना नबनाउन आग्रह गरे ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनीलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने गरि योजना बनाएको बताए । उनले नगरपालिकाको फोहर व्यस्थापनमा चुनौती रहेको भन्दै दिर्घकालीन व्यवस्थापनका लागि लागिपरेको बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानीन राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्यले बोल्दै विश्वको उत्कृष्ट गन्तव्यको रुपमा लुम्बिनीको विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी नगर सभापति मोहम्मद सइद खान, पर्यटन व्यवसायीहरु हेम बहादुर विष्ट, अक्रामुद्धिन मुसलमान, उद्योग व्यापार संगठनका अध्यक्ष अनिल गुरुङ, इस्लाम खान, गंगाराम कुर्मी लगायतले लुम्बिनीको विकास गुरुयोजना क्षेत्रभित्रको पर्खाल भित्रमात्रै सीमित रहेकाले बाहिर पनि विकास गर्न आवश्यक रहेको बताए ।
यस्तो छ क्वाकको सपनाको लुम्बिनी शान्तिशहर
लुम्बिनीलाई विश्व शान्ति शहरको रुपमा विकास गर्न कोरियन प्रोफेसर डा. क्वाक योङ हुनले तयार पारेको गुरुयोजना कमलको फूलको आकारमा छ।
अत्याधुनिक शहरको परिकल्पना गरिएको यो गुरुयोजनाले लुम्बिनीलाई शान्ति र आध्यात्मिक मात्रै होइन, अत्याधुनिक शहरकै रुपमा विकास गर्ने सपना देखेको छ।
सन् १९७८ मा जापनिज वास्तुकलाविद् केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना बाहिर २४ वर्गमाइलको क्षेत्रफलमा पर्ने गरी कोरियन प्रोफेसर क्वाकले शान्ति शहरको गुरुयोजना कोरेका हुन्। उनको गुरुयोजनाले लुम्बिनीको पाँच वर्गमाइल क्षेत्रमा शान्ति शहर बनाउने र बाँकी १९ वर्गमाइल क्षेत्रलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ। पाँच वर्गमाइल क्षेत्र भित्र लुम्बिनी वरिपरिका गाउँ (साविकका ११ गाविस) समेटिनेछन्।
क्वाकको गुरुयोजनाले लुम्बिनीमा एकैपटक २ लाख पर्यटक अटाउन सक्ने गरी प्रत्येक घरमा होमस्टेको अवधारणा अघि सारेको छ। उनको गुरुयोजनाले यसको कार्यान्वयनमा लाग्ने खर्चको अनुमान समेत तयार गरेको छ। उनले ३ अर्ब अमेरिकी डलरमा यो शान्ति शहर सम्पन्न गर्न सकिने अनुमान गरेका छन्।
केन्जो टाङगेको गुरुयोजनालाई कुनै असर नपर्ने गरी बनेको गुरुयोजनाले स्थानीय बस्ती, जंगल, स्कुल, मठ, मन्दिर, मस्जिद तथा सडकहरुलाई जस्ताको तस्तै राखेर शान्ति शहरको रुपमा विकास गर्ने लक्ष्य राखेको छ।
क्वाकले गुरुयोजना कार्यान्वयनमा समस्या पर्ने भन्दै लुम्बिनी क्षेत्रमा अग्ला घर निर्माण नगर्न,उद्योग कलकारखानाहरुलाई व्यवस्थित गर्न, ठूला तारे होटलहरु बनाउने अनुमति नदिन सरकारसँग आग्रह गर्दै आएका छन्। कमलको फुलको आकारमा तयार भएको क्वाकको गुरुयोजनाले २४ वर्गमाइल क्षेत्रफललाई चार भागमा बाँडेको छ।
हालको पवित्र जोनलाई बुद्ध जोन, हालको गुरुयोजना क्षेत्रलाई धर्म जोन, त्यसबाहिर पाँच वर्गमाइल क्षेत्रलाई संघ जोन र बाँकी १९ वर्गमाइल क्षेत्रलाई उपासका जोनको रुपमा परिभाषित गरिएको छ। संघ जोनलाई कमलको फुलको पत्र जस्ता ८ वटा पत्रमा बाँडिएको छ।
ती आठवटै पत्रमा बनेका शहरहरुमा माछा, मासु, मदिरा तथा पेट्रोलियम सवारीहरु निषेध गर्ने योजना क्वाकको छ। शहर बाहिर उपासका जोनमा कृषि उत्पादनका लागि व्यवसायिक फर्महरु सञ्चालन गरेर कृषि पर्यटनको अवधारणा समेत अघि सारिएको छ।
शान्ति शहरमा एउटै आकारका घर, फराकिला सडक, १० मिनेटभित्र पुग्न सकिने स्कुल तथा स्वास्थ्य चौकीहरु, सौर्य ऊर्जा, पानी, विद्युत लगायतका सबै सुविधा सहित शहरलाई प्रदुषणरहित बनाउने उपायहरु उल्लेख गरिएको छ।
गरिबीसगै शान्ति नआउने भन्दै क्वाकले आफ्नो गुरुयोजना कार्यान्वयन भए लुम्बिनीका प्रत्येक व्यक्तिले दैनिक ३० डलर आम्दानी गर्न सक्ने दाबी समेत गरेका छन्। सन् १९९९ देखि २००० को डिसेम्बर सम्म निरन्तर लुम्बिनीको अध्ययन गरेका क्वाकले तत्कालीन समयमै लुम्बिनीमा शान्ति शहरको अवधारणा सहित सुझाव दिएका थिए। उनले लुम्बिनीमा शान्ति शहर बनाउन आफ्ना निकै नजिकका मित्र संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुन समक्ष प्रस्ताव राखेका थिए।
मुनले पनि लुम्बिनीको विकासमा चासो देखाएपछि क्वाकले कोरियन प्रोजेक्ट कोइका मार्फत शान्ति शहरको गुरुयोजना कोर्न थालेका थिए।
पछि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनीको विकासका लागि अन्तर्रा्ष्ट्रिय समितिको अध्यक्ष बन्न मुनलाई आग्रह गर्दा महासचिव मुनले ग्रेटर लुम्बिनी र शान्ति शहर निर्माण गर्ने सर्तमा अध्यक्षता स्वीकार गरेका थिए। तर त्यो पूरा हुन सकेन।
क्वाकले संसारका थुप्रै मुलुकहरुको गुरुयोजना बनाइसकेका छन्। उनले लुम्बिनी शान्ति शहरको प्रोजेक्ट आफ्नो अन्तिम प्रोजेक्ट हुने बताउँदै आएका छन्। सरकारले २०६८ साल माघ ६ गते शान्ति शहरकोे गुरुयोजना निर्माणका लागि कोइकासँग १८ करोड रुपियांको सम्झौतामा हस्ताक्षर गरेको थियो।