परासी : ग्रामीण पर्यटन प्रवद्र्धनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्भावना रहेको महलपोखरी क्षेत्रमा सामुदायिक घरबास(होमस्टे) सञ्चालन गरिने भएको छ । घरवास सञ्चालनका लागि अहिले धमाधम आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ ।
सुनवल नगरपालिका–४ स्थित महाभारत र चुरे पर्वतको सङ्गमस्थलमा पर्ने महलपोखरी समुद्र सतहदेखि एक हजार २३ मिटर उचाइमा पर्दछ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनवल बजारबाट ११ किलोमिटर उत्तरतर्फ पहाडी कच्ची बाटो छिचोल्दै पुग्न सकिने यो ठाउँ पर्यटकीय दृष्टिकोणले रमणीय, सुन्दर तथा आकर्षक छ ।
परापूर्वकालदेखि नै मगर जातीको बसोबास रहेको सो स्थलमा सुनवल नगरपालिकाको पहलमा घरबास सञ्चालनको तयारी गरिएको हो । पच्चीस घरधुरीको बसोबास रहेको सो क्षेत्रमा शुरुमा पन्ध्र घरमा घरबास सेवा प्रदान गर्ने तयारीका साथ अहिले धमाधम पूर्वाधार विस्तारको काम भइरहेको वडा नं ४ का वडाध्यक्ष वीरबहादुर गुरुङले जानकारी दिए ।
घरबास सञ्चालनका लागि यहाँका स्थानीयवासीलाई दुई चरणमा गरी एक÷एक महिनाको तालीम सञ्चालन गरी क्षमता अभिवृद्धि गरिएको छ । अहिले घरबासको सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने घरबास सेवा सञ्चालन हुने घरमा आवश्यक संरचना बनिरहेको वडाध्यक्ष गुरुङले बताए ।
“सामुदायिक भवन निर्माणका लागि नगरपालिकाबाट यस वर्ष रु दश लाख विनियोजन गरिएको थियो, गाउँलेको श्रमदान समेतमा यो निर्माण भइरहेको छ, घरबास सञ्चालन हुने घरमा दुई कोठामा चार बेड, वाथरुम, शौचालय निर्माण भइरहेका छन्”, उनले भने । नगरपालिकाले गत वर्ष पनि रु पाँच लाख विनियोजन गरी काम शुरु गरेको थियो ।
घरबास प्रवद्र्धनका लागि लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पूर्वाधार निर्माणका लागि रु आठ लाख र संस्कृति प्रवद्र्धनका लागि रु चार लाख गरी रु १२ लाख विनियोजन गरी पठाएको छ । गाउँलेहरु आफ्नो परम्परागत कला र संस्कृति अनुसारको वेषभूषा र सांस्कृतिक प्रस्तुतिको तयारीमा जुटेका छन् ।
महलपोखरीबाट उत्तरतर्फ हिमालका दृश्य, पहाड पर्वत तथा दक्षिणतर्फ तराईका विशाल फाँटको दृश्यावलोकन गरी प्रर्याप्त आनन्दको अनुभूति गर्न सकिन्छ । छोटो दूरीको यात्रा पश्चात नै तराईवासीले पहाडी हावा, पानी र वातावरणमा रमाउनसक्ने भएकोले यहाँ विशेष गरी आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ ।
सामुदायिक भवन तथा घरबास सेवा दिने पाहुना घर तयार भई गाउँलेले आफ्नो परम्परागत मौलिक कला सांस्कृतिक प्रदर्शन गर्न तयार भएपछि घरबास सेवा शुरु गरिने नगर उपप्रमुख दधिराम अर्यालले जानकारी दिए । “आवश्यक पूर्वाधार तयार भएपछि नगरपालिका र स्थानीयवासीको ५०÷५० प्रतिशत बजेट सहभागितामा अब छिट्टै घरबास सञ्चालन गर्ने तयारी गरिरहेका छौँ, स्थानीयवासीलाई फेरि पुनःताजगी तालीम दिनुपर्ने छ”, उनले भने ।
घरबासमा स्थानीय उत्पादनका परिकारलाई मुख्य प्राथमिकता दिइनेछ । घरबास मार्फत ग्रामीण पर्यटन प्रवद्र्धन गरी पछाडि परेका मगर समुदायको जीवनस्तर सुधार गर्न लागिएपछि स्थानीयवासीमा खुशियाली छाएको छ । यस स्थानमा पाल्पाका तत्कालीन राजा मणिमुकुन्दसेन (द्धितीय)को पालामा बनेको ऐतिहासिक महलपोखरी(गजधम्बा) देवीको मन्दिर र सत्यवती बजैसँग जोडिएको पोखरीसमेत रहेको छ ।
पाल्पाको तत्कालीन सेनवंशी राजा त्रिवेणीधाम आवातजावत गर्दा पुज्ने गरेको यहाँको गजदम्बा देवीको मन्दिरमा विसं १९८५ मा चढाइएको घण्ट अहिले पनि देख्न सकिन्छ । विजयादशमी तथा चैतेदशैँमा विशेष भीड लाग्ने यस मन्दिरमा विशेष शक्ति रहेको भन्दै भक्तजनले शक्तिपीठको रुपमा विशेष आस्था राख्ने गरेको वडा नं ४ का वडा सदस्य बालकृष्ण पङ्गेनी बताउछन् ।
यहाँ भाकल गरेको मनोकामना पूरा हुने गरेकाले विशेष श्रद्धा, आस्था र विश्वास रहिआएको उनले बताए । अहिले यस मन्दिरको जीर्णउद्वार गरिदैँछ । सो क्षेत्रमा प्राचीनकालमा महल(दरबार) र पोखरी रहेकोले यस ठाउँको नाम महलपोखरी रहन गएको किम्बदन्ती छ ।
महलपछि भत्किएको र पोखरी हालसम्म रहेपनि स्थानीयवासीले अतिक्रमण गरी खेती गरिरहेको उनले बताए । परापूर्वकालदेखि नै यहाँ भेटी चढाउने प्रचलन रहेकामा विस २०३६ देखि बन्द भएको स्थानीय बताउँछन् । पाल्पाबाट सत्यवती बज्जै सोही बाटो भएर जाने क्रममा बास बसेकाले ठूलो खाल्डोपछि महलपोखरीका रुपमा परिणत भएको किम्बन्दी पाइन्छ । महलपोखरी पहाडको टाकुरामा चार बिघामा फैलिएको महलपोखरीमा वर्षाको समयमा मात्र पानी देख्न पाइन्छ ।
महलपोखरीलाई केन्द्रमा राखेर जिल्लाको मूलभन्सार महेशपुरदेखि सुनवल– महलपोखरी हुँदै पाल्पा जोड्ने गरी सडक सञ्जाल विस्तार गरिएको छ । सो क्षेत्रलाई बुटवल–पाल्पा सडकखण्डको वैकल्पिक मार्गका रुपमा समेत हेरिएको छ । ऐतिहासिक र पुरातात्विकस्थल भए पनि यहाँको भौगोलिक विकटताका कारण सो ठाउँपछि परेको स्थानीयवासी बताउँछन ।
उचित प्रचारप्रसार र यातायातको असुविधाका कारण ओझेलमा परेको महलपोखरी पछिल्लो समय घुमफिर, मनोरम दृश्यावलोकन तथा वनभोजका लागि आन्तरिक पर्यटकको रोजाइमा परेको छ । वर्षात्को समयमा यहाँ आवतजावत गर्न कठिनाइ हुने भएकोले हिँउदको समयमा पर्यटकको आगमन बढ्ने गरेको छ । प्रदेश सरकारले सुनवलदेखि महलपोखरी सडक खण्डको बेलारी खोलामा हालै मोटरेवल पुल निर्माण गरेको छ ।
अब उक्त सडकको स्तरोन्नति गरी कालोपत्र गर्न सकिए आवागमनमा सहज हुने स्थानीयवासीले अपेक्षा गरेका छन् ।
रासस