सैनामैना -सैनामैनालाई पर्यटकीय एवं धार्मिक क्षेत्रका रुपमा विकास गर्नका लागि सैनामैना–३ मुर्गियामा रहेको दुर्गा मन्दिरमा नेपालमै पहिलो पटक शैलपुत्री शक्तिपीठ मन्दिरको निर्माण गरिने भएको छ। नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी २३ करोड ५० लाखको लागतमा सो परियोजनाको डिपिआर प्रस्तुत गरेको छ सैनामैना नगरपालिका वडा नं. ३ मुर्गियामा रहेको नव दुर्गा मन्दिरलाई बृहत रुपमा धार्मिक पार्कको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ।
पर्राेहा बाेलबमधामका कारण देशको दोस्रो पशुपतिनाथको नामले चिनिले सैनामैनालाई थप धार्मिक एवं पर्यटकीय गतव्य स्थलको रुपमा विकास गर्नका लागि यस शैलपुत्री शक्तिपीठले महत्वपूर्ण भूमिका खेल्ने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताए। उनले यस योजनालाई सम्पन्न गर्न स्रोत व्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय गरि अगाडि बढ्ने बताए।
सैनामैना नगर क्षेत्र भित्रका सार्वजनिक क्षेत्रहरुको समुचित उपयोगबाट समृद्धिका बाटाहरु खोल्दै जाने जिकिर गर्दै केन्द्रीय सरकार सँग सहकार्य गरी आउँदो बजेटमा यस योजनालाई पनि समेटिने नगर प्रमुख कार्कीको भनाइ छ। यस शक्तिपीठलाई बोलबम धाम, लामिरह, लुम्बिनी लगायतका क्षेत्रहरुसँग जोडेर बृहतरुपमा विकास गर्न सके यस क्षेत्रमा कायापलट हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताए।
निर्माणाधिन शक्तिपीठको व्यवस्थित डिपिआर तयार गरिएको र धार्मिक पर्यटनको लागि आवश्यक सबै पूर्वाधारहरु समेटिएको सैनामैना नगरपालिकाका योजना प्रमुख ईन्जिनयर सुरज न्यौपानेले जानकारी दिए।
दुर्गा माताको ९ वटा रुप मध्येको पहिलो स्वरुप शैलपुत्री नाम रहेको र उनको नामबाट नेपालमा यस प्रकारका शक्तिपीठ नभएको हँुदा सैनामैनामा बन्ने यस शक्तिपीठ नेपालकै पहिलो हुने आचार्य पण्डित बिष्णु प्रसाद ज्ञवालिको भनाइ छ। यहाँ रहेको भौतिक संरचनाहरुलाई व्यवस्थित तवरले समेट्दै नमुना शक्तिपीठ बनाइने दुर्गा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बानियाँले बताए।
योजना सम्पन्न गर्न साढे २३ करोड लाग्ने आर्किटेक कोमल बहादुर पुनले बताए। वास्तु सिद्धान्तलाई अंगिकार गरी डिपिआर निर्माण गरिएको पुनको भनाई छ। बजेटको पूर्ण प्रबन्ध भए करिब तीन बर्ष भित्र आयोजना सम्पन्न हुनेछ ।
दुई बिगाह क्षेत्रफलमा यस शक्तिपीठ फैलने छ भने मुख्य मन्दिर ८ सय ६५ स्क्वार मिटरमा रहने छ। डिपिआर तयार भए संगै यस क्षेत्रका जनप्रतिनिधि, समाजसेवी, मन्दिर ब्यवस्थापन समिति र सरोकार सबैको उपस्थितिमा नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ।
को हुन् शैलपुत्री ?
शैलपुत्री नवदुर्गा मध्य प्रथम देवी हुन्। देवी दुर्गाको ९ वटा रुप मध्येको पहिलो स्वरुप शैलपुत्रीको नामले चिनिन्छिन्। पर्वतराज हिमालयको घर पुत्री रुपमा उत्पन्न भएकै कारण यीनको नाम शैलपुत्री राखियो। नवरात्रि पूजनमा प्रथम दिन यिनकै पूजा र उपसना गरि नवरात्रिको शुभारम्भ गरिन्छ। यस प्रथम दिनको उपसनामा जोगी आफ्नो मनलाई मूलाधार चक्रमा स्थित गर्छन्। यहिँ देखि यीनको योग साधनाको सुरुवात हुन्छ।