बनेपा - अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि अहिले धुलिखेल आउन चाहनेका लागि होटलमा बास बस्न कोठाको अभाव रहेको होटल व्यवसायी बताउँछन् ।
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्ष मनाउनको लागि धुलिखेल आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यतिबेला धुलिखेलका होटल भरिएको हो । धुलिखेल देवीस्थान डाँडामा रहेको होटल पानारोमाका सञ्चालक चञ्चल नगरकोटीले नयाँ वर्ष शुरु हुनुभन्दा अगाडिदेखि नै होटल बुक गर्ने गरेको कारण अहिले आउनेका लागि कुनै व्यवस्थापन गर्न नसक्ने बताए।
“हामी कहाँ १५ दिन अगाडिदेखि सम्पर्क गरेर आउने पाहुना भएको कारण पछिल्लो समयमा आउनेको लागि ठाउँ व्यवस्थापन गर्न सकिरहेको छैन”, उनले भने, “यहाँका होटल हिजोआज भरिएका छन् ।
” धुलिखेल भट्टेडाँडामा रहेको होटल सारथीका सञ्चालक प्रल्हाद प्याकुरेलले आफ्नो होलटमा आउने पाहुनालाई सबै व्यवस्थापन गर्न नसकेपछि नजिकैको अरु होटलमा बुकिङ गरी राख्नुपरेको बताए । “अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै केही दिनदेखि होटल निकै भरिपूर्ण बनेको छ”, उनले भने, “अहिले पछिल्लो समयमा धुलिखेल आउन चाहनेका लागि फोन सम्पर्कमा आउने पाहुनाका लागि ठाउँको व्यवस्थापन गर्न असमर्थ भएका छौँ ।” धुलिखेलका सबैजसो होटल भरिभराउ भएको कारण पछिल्लो समयमा धुलिखेल आउन चाहने आन्तरिक पर्यटकले होटल बुकिङ गर्न नपाएको बताए ।
धुलिखेल बसपार्कमा रहेको होटल माउण्ट प्रिन्सेजका सञ्चालकसमेत रहनुभएका क्षेत्रीय होटल सङ्घ काभ्रेपलाञ्चोकका सचिव ज्योत्सना श्रेष्ठले काठमाडौँबाट नजिक, सडकको सुविधा भएको शान्त पारिवारिक वातावरण भएको ठाउँ भएको कारण पनि धुलिखेल पर्यटकको रोजाइमा पर्ने गरेको बताए ।
“कोरोनाका कारण अहिले समय अलि प्रतिकूल रहे पनि विभिन्न क्षेत्रबाट धुलिखेल आउनेको सङ्ख्या निकै बढेको छ”, उनले भने, “समय त्यस्तै भएकाले केही आइएनजिओ र एनजिओमा कार्यरत बाह्य पर्यटकबाहेक धेरैजसो आन्तरिक पर्यटक रहेका छन् ।” पहिला नै बुक गर्ने र बुक नगरिकन आउने आन्तरिक पर्यटकको आगमन निकै बढ्दै गएको उनले बताए । रासस