भैरहवा–गौतमबुद्धको जन्मस्थल लुम्बिनी। वर्षेनी लाखौ पर्यटक आउने पवित्र स्थल विगत ७ महिना देखि पर्यटकविहीन छ।
सौन्दर्यीकरण भएर सुन्दर बनेपनि पर्यटकबिनाको लुम्बिनी निरशलाग्दो छ। वर्ष २०१९ मा १ लाख ७४ हजार तेस्रो मुलुकका, २ लाख ६ हजार भारतिय र ११ लाख ७८ हजार नेपाली पर्यटकहरु लुम्बिनी मायादेवी दर्शन गर्न आएपनि यस वर्ष कोरोना माहामारीका कारण सो संख्यामा भारी गिरावट आएको छ।
चैतदेखि तेस्रो मुलुकका पर्यटक आउन नसकेपछि लुम्बिनीमा यस वर्ष हालसम्म ४० हजार पर्यटक आएका छन्।
यस्तै भारतीय पर्यटक ३५ हजार र १ लाख ४० हजार नेपाली पर्यटकले मायादेवी दर्शन गरेका छन्।
यी पर्यटक पनि लकडाउन भन्दा पहिले घुम्न आएका हुन्। अहिले विदेशी र भारतिय पर्यटक नआए बराबर छ, सरकारले स्थलमार्गका सबै सिमाना बन्द गरेको छ भने सिमित देशसँग मात्र हवाई उडान गरेकाले अन्य पर्यटकहरु आउने सम्भावना पनि कम छ।
कोभिड–१९ जोखिमकै कारण हाल सम्म मायादेवी मन्दिर खुलेको छैन। मन्दिर खुल्न नसकेपछि आन्तरिक पर्यटकहरु पनि आएका छैनन्।
पर्यटक आउन नसकेपछि लुम्बिनीको केन्द्रीय नहरको डुंगा पनि सञ्चालनमा आउन सकेको छैन।
पोखरीमा फोहोर जमेपछि विकास कोषले केही समय सफा गराएको पोखरी पुनः लेउ लागेर फोहोर बनेको छ।
फाटफुट पर्यटक आए पनि गेट बाहिरबाट बन्द रहेका मन्दिर, गुम्बाको दर्शन गरेर जाने गरेका छन्। मायादेवी मन्दिर नै बन्द भएपछि अन्य मन्दिर र गुम्बाहरु पनि खुला भएका छैनन्।
अन्तराष्ट्रिय बौद्ध आस्थाको केन्द्रको रुपमा रहेको यस्ता क्षेत्रबाट नै संक्रमण फैलिनु समग्र देशको लागि नराम्रो सन्देश जाने भएकोले सरकारले समेत जोखिम लिन सकिरहेको छैन, जोखिम कायम भएकोले मायादेवी मन्दिर समेत हाल सम्म खुल्न सकेको छैन।
पर्यटन मन्त्रालयले सरकारलाई पटकपटक खोल्नका लागि पत्राचार गरेपनि सरकारले जोखिमका कारण निर्णय लिन सकेको छैन।
‘मन्दिर प्रवेशमा रोक लगाउने निर्णय नेपाल सरकारको हो, सरकारले निर्देशन दिएकै दिनबाट मायादेवी मन्दिर खोल्न हामी तयार छौ, सबै सुरक्षाका मापदण्ड अपनाएर हामीले पर्यटकका लागि मन्दिर खोल्न सकिन्छ, सरकारको निर्देशन नै कुरेका छौ’–लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्ते मेत्तेय अवधेशकुमार त्रिपाठीले भने।
मायादेवी मन्दिर मात्र हैन सरकारले देशका अन्य यस्ता सम्पदा, मन्दिरहरु सर्वसाधरणका लागि रोक लगाएको छ।
‘स्थानीय र आन्तरिक पर्यटकहरु विस्तारै आउने क्रम बढ्दै गएको छ, खोल्न पहल भइरहेको छ, छिटै खुल्ने मन्त्रालयबाट आश्वासन आएको छ’–उपाध्यक्ष मेत्तेयले भने।
कोरोना भाइरसका कारण मन्दिर बन्द हुँदा आएका पर्यटकले दर्शन गर्न नपाएको भन्दै मन्दिर खोल्न पर्यटन व्यवसायी तथा समाजिक क्षेत्रमा क्रियाशील संस्थाले ज्ञानपत्र समेत दिएका छन्। स्वास्थ्य सुरक्षा मापदण्डमा रहेर धार्मिक र आध्यात्मिक गतिविधि शुरु गर्न उनीहरुको माग छ ।