भैरहवा–लुम्बिनी गुरुयोजना अन्तर्गतको पर्सा–लोहखडिया सडक खण्डको प्रवेशमार्ग सौन्दर्यीकरणको सोमबार शिलन्यास गरिएको छ।
प्रोफेसर केन्जो टांगेको गुरुयोजना अन्तरर्गत बाँकी मध्येको उत्तरी प्रवेशमार्ग पर्सा–लोहखडिया खण्डको लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले शिलन्यास गरेका हुन्।
सन् १९८५ बाट शुरु भएको गुरुयोजना अबको २–३ वर्षमा सकिने गरि काम भइरहेको छ। ४२ वर्षदेखि अन्योलमा रहेको गुरुयोजना विकास कोषले सबै काम सम्पन्न गर्ने गरी कार्ययोजना बनाइ अन्तिम चरणको काम गरिरहेको छ।
लकडाउनको दौरान मायादेवी मन्दिरको प्रवेश मुलमार्ग ५ नम्बर द्वारको ब्रिक लेन लगायतका डिजाइनको काम, नेपालमै नमुना बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभा तथा ध्यान केन्द्रको प्रारम्भिक चरणको काम सकि बाहिरी स्वरुप दिने काम भइरहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्ते मेत्तेय अवधेशकुमार त्रिपाठीले बताए।
‘लुम्बिनी विकास कोषको केन्जो टागेको गुरुयोजनाको बाँकी संरचनाहरु छिटो भन्दा छिटो बनाउनका लागि परामर्शदाता नियुक्त गरेर सबै डिपीआरहरु बनाइसकेको छौ, डिपीआर पछि काममा जाने बाटो खुलेको छ, सो मध्येकै एक उपलब्धिमूलक कामको थालनी आजबाट भएको छ–लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले भने–अन्तर्राष्ट्रिय महत्व बोकेको गौतमबुद्ध जन्मस्थल लुम्बिनी भौतिक रुपमा मात्र नभई शान्त र सौन्दर्यले भरिपूर्ण पनि हुनु पर्छ, शान्ति र परिवर्तनको आभाष हुनेगरि सडकमा प्रवेशद्वार सहित छेउछाउ हरियाली बातावरण बनाउने कामको सुरुवात भएको छ।’
निर्माण शुरु भएको सडक खण्डमा दुवैतर्फ गरी ४ हजार ५ सय ५ वटा विरुवा रोपण हुनेछ।
स्थानीय र रैथाने जातका पेण्डुलम, अशोक, बोटल पार्म, बेगाभेली र सिजनेबल पुष्पवृक्ष लगायतका विरुवाबाट सडकको सौन्दर्यीकरण हुने लुम्बिनी विकास कोषका योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईले जानकारी दिए।
८ सय मिटर लम्बाईको सो सडक दुवैतर्फ १६ सय मिटर सौन्दर्यीकरण हुनेछ। सडकको दुवैतर्फ हरियाली सहितको फुटपाथ हुनेछ भने सोलार बत्ती जडान हुनेछ।
करबाहेक ५ करोड ३५ लाख ११ हजार ९ सय ५६ रुपैयाँको लागतमा बन्ने सो सडकमा निर्माण कम्पनी लुम्बिनी अर्घाखाँची बाबुल जेभीले निर्माण काम सम्पन्न गर्ने योजना प्रमुख ईन्जिनियर भट्टराईले बताए।
निर्माणको काम आगामी १८ महिना अर्थात् अगामी माघ मसान्तभित्र सम्पन्न हुने लक्ष्य छ। यो लगतै प्रवेशद्वारको समेत काम शुभारम्भ हुनेछ।
प्रवेशद्वारको डिजाईन फाइनल भइ स्वीकृति आइसकेको छ करिब ३ करोडको लागतमा बन्ने सो गेट टेण्डर प्रक्रियाबाट निर्माण कम्पनी छनोट गरी सँगसँगै निर्माण गर्ने विकास कोषको योजना छ।
विकास कोषले लुम्बिनीको विकाससँगै बुद्धको जीवनीसँग जोडिएका अन्य क्षेत्र बुद्ध मावली देवदह, कपिलवस्तु रामग्राम लगायतको विकासलाई समेत सँगसँगै अगाडि बढाउने योजना अघि बढाएको छ।
‘रामग्रामको गुरुयोजना तयार भइसकेको छ, कपिलवस्तुका सबै साइटहरु समेट्ने गरी ४–५ महिनामा गुरुयोजना बन्छ यसै सन्दर्भमा भोलि छलफल समेत राखेका छौं’–उनले भने–‘प्रक्रियागत रुपमा जापानीज वास्तुविद् केन्जो टांगेलाई गुरुयोजना अन्तिम चरणमा नै छ, गुरुयोजना अन्तर्गतका मुख्य ५–६ वटा ठूला कामहरु बाँकी रहेका छन्, जुन करिब ६–७ अर्बको लागतमा सकिन्छ, कागजी काममा कुनै रुकावट छैन, प्रायप्त रुपमा बजेट आएमा दुई अढाई वर्षमा सबै गुरुयोजनाका काम सकिन्छ ।’