बुटवल । रुपन्देहीको देवदह नगरपालिका स्थित ऐतिहासिक पाकरी बृक्षको उचित संरक्षण र सम्बद्र्धनमा ध्यान दिन आवश्यक रहेकामा जोड दिइएको छ ।
देवदह नगरपालिका वडा नं ८ मा रहेको यो बृक्ष एसियाकै सबैभन्दा ठूलो र पुरानो रुखमध्ये एक भएपनि सरकारले उचित व्यस्थापनमा ध्यान नदिएको गुनासो सरोकारवालाले गरे ।
रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको औद्योगिक प्रदर्शनीका अवसरमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् लुम्बिनीको सहकार्यमा आज पार्करी बृक्ष स्थलमा आयोजना गरिएको ‘पर्यटन प्रवद्र्धनमा औद्योगिक प्रदर्शनीको भूमिका’ विषयक अन्तरसम्वाद कार्यक्रममा यस्तो गुनासो गरिएको हो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले यो ऐतिहासिक स्थलको विकासका लागि सबैले पहलकदमी लिनुपर्ने बताउनुभयो । “यो क्षेत्र विकास कोष अन्तर्गत पर्दैन तर सबै मिलेर प्रयास गर्न सकिन्छ । सहि योजना निर्माण गर्न सके बजेट जुट्न पनि समय लाग्दैन”, उहाँले भन्नुभयो । यो क्षेत्रमा आउने पर्यटकका लागि पार्करी पार्क तथा अन्य संरचना निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
वडा नं ८ का निवर्तमान वडाध्यक्ष डण्डपानी भट्टराईले धेरै विशेषता बोकेको पाकरी बृक्षमा गिद्ध नबस्ने र हात्ति नजिक नआउनेर कुनै चराचुङ्गीले गुँड नलगाउने गरेको पाइएको बताउनुभयो । उहाँले यो क्षेत्रमा थप जग्गा अधिग्रहण गरेर उचित संरक्षणको पहल थाल्नुपर्ने बताउनुभयो ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) लुम्बिनीका अध्यक्ष रचना पन्तले ओझेलमा परेका पर्यटकीय गन्तव्यको खोजी अभियान सुरु गरिएको बताउनुभयो । “हामीले नयाँ पर्यटकीय गन्तव्यको खोजि गरिहेका छौँ, ऐतिहासिक क्षेत्र भएर पनि प्रचारमा आउन नसकेका यस्त क्षेत्रको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउँछौ”, उहाँले भन्नुभयो ।
पाकरी बृक्ष संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेले पर्यटकीय पूर्वाधार नहुँदा पाकरी बृक्ष हेर्न आउनेहरु खिन्न भएर फर्किने गरेको गुनासो गर्नुभयो ।
पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक टंक नारायण आचार्यले औद्योगिक प्रर्दशनी रमाइलो मेला मात्र नभई स्थानीय उत्पादन र पर्यटकीय गन्त्वयको प्रचार प्रसार गर्ने थलो भएकाले पर्यटन प्रवद्र्धनमा जोड दिइएको बताउनुभयो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका सचिवालय सदस्य जमुना पोखरेल, प्रदर्शनी प्रचार प्रसार समिति संयोजक लालहरी पाण्डे, पर्यटन व्यवसायी बरुण ज्ञवाली लगायतले ऐतिहासिक पर्यटकीय स्थलको विकास र व्यवस्थापनमा तीनै तहका सरकारले चासो दिनुपर्ने बताउनुभयो ।
पुर्व पश्चिम राजमार्गको शित्तलनगर चोकदेखि २ कि.मी. दक्षिणमा रहेको पाकरी बृक्षको उचाई करिब ९६ फीट, फैलिएका हाँगाको परिधी करिब ५०० फिट रहेको छ ।
पुरातत्व विभागले गरेको सर्वेक्षणअनुसार बिशाल पाकरी बृक्ष शाक्य बंशको पालादेखि रहेको अनुमान छ । प्राचीन कोलिय राज्यमा होम यज्ञ गर्नका लागि प्रयोग गरिएको पावन स्थानबाट पाकरी बृक्षको उत्पत्ति भएको मानिएको छ । यो ठाउँ गौतबुद्धकी माता मायादेवीको जन्मस्थानबाट नजिक भएकाले बुद्धले यस बृक्षमूनि ध्यान साधना गरेको हुनसक्ने विश्वास रहेको स्थानीय हरिप्रसाद पाण्डेले बताउनुभयो ।