बुटवल । अंग्रेजी नयाँ वर्षका् अवसरमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा सडक खाना महोत्सव आजदेखि बुटवलमा सुरु हुँदै छ ।
पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले चौँथो बुटवल सडक खाना महोत्सवको आयोजना गरिएको हो ।
“नेपाली मौलिक कला सँस्कृति तथा खानपानका परिकार हाम्रो सान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान ” भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाका विभिन्न जातजातीका खानाका परिकारहरु रहने छन् ।
बुटवल उपमहानगरपालिका —९ कालिकापथको तिनकुनेदेखि उत्तरतर्फ नयाँबसपार्कसम्मको सडकमा आजदेखि १७ गतेसम्म खाना महोत्सवको आयोजना गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले जानकारी दिनुभयो ।
उहाँले बुटवलको कालिका पथलाई उज्यालो सहरकारुपमा विकास गर्दै रात्रिकालीन व्यवसाय सञ्चालन गर्न महोत्सवले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बुटवलमा निर्माण हुँदै गरेका दुईवटा केबुलकार, अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थललगायतका कारणले आगामी दिनमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेखनीय हुने र पर्यटन व्यवसायमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
महोत्सवमा खाद्य स्वच्छतामा विशेष ध्यान दिइएको अध्यक्ष गौतमको भनाइ छ । “स्वच्छ, सफा र गुणस्तरीय परिकारका लागि आचारसंहिता सहित व्यवसायीसँग सम्झौता गरिएको छ”, उहााले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सुरक्षामा समेत विशेष ध्यान दिएका छौँ ।”
संघका महासचिव माधवकुमार खनालले सुस्ताएको पर्यटनलाई उजागर गर्न र आर्थिक चलायमान बनाउन महोत्सवले मद्दत पुग्ने बताउनुभयो । “धनी र गरिबले एकै ठाउँमा खान र मिल्ने गरी महोत्सवको व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो ।
महोत्सवको व्यवस्थापनमा रु २५ लाख बढी खर्च हुने अनुमान गरिएकोे छ । महोत्सवमा विभिन्न प्रकृतिका सय वटा स्टल रहने र करिब रु १ करोडको कारोबार हुने अनुमान संघले गरेको छ ।