रुपन्देही । स्पष्ट नीति नहुँदासम्म पर्यटन प्रवद्र्धन हुन नसक्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको पर्यटन प्रवद्र्धन तथा नागरिक उडड्यन विभागले आज बुटवलमा आयोजना गरेको पर्यटन व्यवसाय आजको सन्दर्भ विषयक कार्याशाला गोष्ठीमा सहभागी वक्ताले पहिले स्पष्ट नीति बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
गोष्ठिमा पुर्वमन्त्री तथा विभागका प्रमुख भिमप्रसाद आचार्यले देशको आर्थिक अवस्था कमजोर भएका कारण पर्यटन व्यवसाय पनि प्रभावित भएको बताउनुभयो ।
पर्यटन प्रवद्र्धनबाटै देशको आर्थिक अवस्था सुदृढ हुने हुँदा विभागले प्रभावकारी योजना निर्माणको काम थालेको उल्लेख गर्नुभयो । उहाँले पर्यटन प्रवद्र्धनका नितिगत समस्या पहिचान गरी समस्या समाधानका उपायहरुसहितको योजना र कार्यक्रम बनाएर कार्यान्वयनमा ल्याउने उल्ल्ेख गर्नुभयो ।
विभागका उपप्रमुख भिमबहादुर केसीले विभागले पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशमा पर्यटन व्यवसायीका सुझाब लिएर प्रभावकारी योजना र कार्यक्रम बनाउन शुरु गरेको बताउनुभयो ।
कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै डा. आलोक पसाईले कानूनी जटिलता, नितिगत समस्या, पर्यटनमैत्री कार्यविधिको आभाव, तीन तहबिचको अधिकारमा अस्पस्टता, पुर्वाधारको कमी, हवाइ सेवाको उपलब्धता, दक्ष जनशक्तिको अभाव र कोभिड १९ को असर नै पर्यटन बिकासका समस्याकारुपमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले यो समस्या समाधानका लागि निति र नियतमा स्पष्टता, नतिजामुलक प्रचार प्रसार जनशक्तिको क्षमता विस्तार, पर्यटन वस्तुमा विविधीकरण, वातावरण तथा प्राकृतिक सम्पदाको संरक्षण, प्रभावकारी आन्तरिक समन्वय, आन्तरिक पर्यटन प्रवद्र्धन, नयाँ पर्यटन गन्तव्यको पहिचान, मौलिक सस्कृतिको प्रवद्र्धन तथा संरक्षण, पुर्वाधार विकास, हवाइ मैदान तथा सम्पर्कमा विस्तार र महामारीको जोखिम कम गर्ने र जोखिम बहन गर्न सक्ने योजना आवश्यक रहेको बताउनुभयो ।
गोष्ठिमा पर्यटन व्यवसायी माधव नेपालले पर्यटन व्यवसायीलाई उत्साहित गर्ने खालका नीति र कार्यक्रम सरकारले ल्याउन नसकेको गुनासो गर्नुभयो । “नीति र नियत सफा नहुँदासम्म यस्ता गाष्ठिको औचीत्य हुँदैन । नियत खराब राखेर काम गर्नेको पहिचान गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।
होटल एशोसिएसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले पर्यटक भित्र्याउन यहाँका भौतिक पूर्वाधार पर्यटनमैत्री बनाउनुपर्ने धारणा राख्नुभयो ।
मणिमुकुन्द सेन उद्यान समिती बुटवलका अध्यक्ष खेमप्रसाद लुइँटेलले पर्यटन क्षेत्रमा आमूल परिवर्तनका लागि योजना र कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उद्यान तथा पार्कलाई पनि त्यसमा समेट्नुपर्ने सुझाव दिनुभयो ।
गोष्ठिमा व्यवसायीहरु राजेन्द्र सिं, नारायण भण्डारी, समुन्द्र जिसी, बालाराम भट्टराई, मनोज रिजाल, रुद्र ज्ञवाली, महेन्द्र श्रेष्ठ लगायतले बोल्दै समृद्धिको आधार पर्यटन व्यवसाय भएकाले यसमा विशेष जोड दिन आग्रह गर्नुभयो ।