बुटवल - जिल्ला भित्र सार्वजनिक यातायात चल्न थालेको २० दिन भन्दा बढी भइसक्यो । आइतबारबाट लामो दुरीका यातायात पनि सञ्चालन भइसकेको छ । तर बुद्धजन्मस्थल लुम्बिनी भने अझै खुलेको छैन ।
कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि बैशाख १६ गतेबाट रुपन्देहीमा निषेधाज्ञा लगाइएको थियो। असारबाट निषेधाज्ञा खुकुलो भएर, क्रमश निजी गाडी, जिल्ला भित्र सार्वजनिक यातायार र केही दिन यता लामो दुरीका सार्वजनिक बसहरु पनि चलेका छन् ।
निषेधाज्ञाका कारण सुनसान लुम्बिनीमा यातायात सुचारु भएसँगै विस्तारै चहल पहल बढ्न थालेको छ । जिल्ला भित्रबाट मात्र नभई टाढा टाढाबाट पनि लुम्बिनी घुम्न आउन थालेका छन् । मायादेवी मन्दिर लगायत अन्य विहारहरुको अवलोकन गर्न पाउँदैनन् । ‘तिर्थयात्रीहरु अलि आउन थालेका छन् । तर हामीले खोलेका छैनौ । नेपाल सरकारले मठमन्दिरहरु खुलाउने निर्णय नगरेसम्म नखोल्ने भन्ने निर्णय छ ।’ लुम्बिनी विकास कोषका सुचना अधिकृत राजन बस्नेतले भने ।
सरकारको निर्णय अनुसार लुम्बिनीको परिषर नै बन्द छ। लुम्बिनी पुगेका पर्यटक भने मायादेबी मन्दिरको परिषर बाहिर शान्तिदीप क्षेत्र तिर भने घुम्ने गरेका छन् । ‘भित्र जान खोज्नेहरुलाई हामीले रोकेका छैनौ । मन्दिर र विहार घुम्न पाइन्न भनेर भन्ने गरेका छौं । बाहिर बाहिर घुमेर आउँछौं भन्नेलाई जान दिएका छौं। बस्नेतले भने ‘सरकारी निकायका मानिसहरु आउनुभयो भने मायादेवी मन्दिर परिषरमा पनि लगेका छौं ।’
कोरोना संक्रमण र निषेधाज्ञासँगै लुम्बिनीको पर्यटन व्यवसाय पनि ठप्प छ । मन्दिरहरु खुलेमा पर्यटन क्षेत्र केही चलायमान हुन्छकी भन्ने आशा उनीहरुमा छ। लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले मायादेवी मन्दिर खोल्न कोषसँग आग्रह गरिरहेको बताए । ‘मन्दिर नखुल्दासम्म हाम्रो केही हुनेवाला छैन । खुल्यो भने बाहिर बजारमा पनि चहलपहल हुन्थ्यो। ठूलो फाइदा नभएपनि स्टाफहरु टिकाउनसम्म सकिन्थ्यो कि।’ उनले भने ‘हामीले कोषलाई भनेका छौं। उहाँहरुले माथिबाट आदेश आएपछि खुल्छ भन्नुभएको छ ।’
पछिल्लो समय कोरोनाको प्रभाव पनि केही कम भएको छ । सबै क्षेत्र खुल्दा लुम्बिनी खोल्न पनि विकास कोष तयार छ । तर सरकारले निर्णय गरेको छैन। नयाँ सरकार गठन भएर मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुँदा पनि लुम्बिनी खुल्ला गर्ने भन्ने बारे निर्णय हुन नसकेको हो ।
अझैसम्म संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री नियुक्त हुन सकेको छैन । पर्यटनमन्त्री लुम्बिनी विकास कोषको पदेन अध्यक्ष हुने व्यवस्था छ । नयाँ मन्त्री नियुक्त भएर आएपछि लुम्बिनी खुल्न सक्ने कोषका सुचना अधिकृत राजन बस्नेतले बताए । ‘मन्त्रिपरिषदको निर्णय भएपनि मन्त्री स्तरिय निर्णय भएपनि हामीलाई आदेश चाहीयो । उनले भने ‘अहिले त पर्यटन मन्त्रालय प्रधानमन्त्रीसँग छ । मन्त्रीसँग भए कुरा राख्न पनि हामीलाई सहज हुन्छ । नयाँमन्त्री आइसकेपछि अब पर्यटकको लागि लुम्बिनी खुल्ला हुन सक्छ ।’