भैरहवा– भारतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिन नदिन र भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि देश लकडाउन भयो। आन्तरिक तथा बाह्य उडान रद्ध गर्दै सरकारले चीन र भारत जोडिएका नाकाबाट आवतजावतमा समेत रोक लगायो। संक्रमण रोकथामका लागि सीमा नाकाको आवतजावतमा कमी भयो।
लकडाउनको समयमा आउनेहरु क्वारेन्टिन बसे। संक्रमण देखिएकाहरु सरकारले बनाएका आइसोलेशन बसे।
देशभरको लकडाउन हट्यो। लकडाउन हटेपछि सीमा क्षेत्रबाट आउनेजानेहरुलाई सहज भयो। पहिलेभन्दा खुकुलो भयो।
खुकुलो भइसकेपछि भारतीय कामदारहरु पनि नेपाल आए।
नेपालमा समुदायस्तरमा संक्रमण देखियो। पुनः सीमामा कडाई गर्ने निर्णय भयो।
गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले भारतबाट स्थलमार्ग हुदै नेपाल आउनका बेलहिया सहित दश वटा नाका तोकिएपनि खुल्ला सीमाका कारण भित्री नाकाबाट पनि नेपाल भारत ओहोरदोहोर भइरहेको छ।
यो साता मात्रै रुपन्देहीको बेलहियानाकाबाट एक हजार २ सय १३ जना नेपाली भारतबाट नेपाल आएका छन् भने ७ सय ७५ जना भारतीय नागरिक नेपालबाट भारत वैधानिक रुपमा गएका छन्।
चार महिना गरिएको लकडाउन अन्त्य भएसँग सीमामा वैधानिक रुपले हिड्ने पनि उत्तिकै छन्। निर्धारित सीमानाकाबाट दैनिक एकसय भन्दा बढी नागरिक स्वदेश फर्किने र बाहिरिने क्रम जारी रहेपनि खुला सिमाका कारण चोरबाटोबाट पनि अवैधानिक रुपमा ओहोरदोहोरो गर्नेको लेखाजोखा नै छैन।
सरकारले लकडाउन हटाएसँगै भित्री नाकाहरुमा नेपाल–भारत ओहोरदोहोरो बढेको छ । संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय नेपालमा पनि बढ्दो क्रममा छ। रोजगारको शिलसिला, उपचारको क्रममा र भ्रमणमा रहेका नागरिक लकडाउन भएदेखि साउन महिना सम्म बेलहिया नाकाबाट ३३ हजार ८ सय ४१ जना नागरिक नेपाल आएका छन्।
त्यस्तै ३४ हजार ९६ जना नागरिक नेपालबाट भारत गएको तथ्यांक ईलाका प्रहरी कार्यालय बेलहियासँग छ।
कार्यालयका अनुसार रुपन्देही सहित ५५ जिल्लाका नागरिक बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका छन् जसमध्ये २५४ जना बिरामी र शव पनि नेपाल आएको छ । लकडाउनयता करीब ६८ हजार जना अनुमति लिएरै नेपाल आएका छन्।
अहिले पनि नेपाल आउने क्रम रोकिएको छैन। पहिलाको तुलनामा कमी भएपनि यस हप्तामा मात्र एक हजार २ सय १३ जना नेपाली भारतका विभिन्न ठाउँबाट आएको ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक ईश्वरी अधिकारीले जानकारी दिए।
तथ्यांकअनुसार सबैभन्दा बढी जेठ १७ गते १ हजार ३ सय ७५ जना नेपाली यस नाकाबाट नेपाल आएका छन् भने जेठ २६ गते १ हजार ५ सय ९४ जना भारतिय यस नाकाबाट भारत गएका छन्।
खुल्ला आवतजावतमा बन्देज लगाएपनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षाको बावजुद मैनिहवा, भगवानपुर, सेमरपानी, नौडिहवा, अमवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली लगायतका एकदर्जनभन्दा बढी भित्री नाकाहरुबाट पनि लुकिछिपी दैनिक सयौँ नागरिक दुईदेश ओहोरदोहोर गरिरहेका छन्। खुल्ला सीमाना र गाउँहरु दशगजासँगै जोडिएकोले पनि आवतजावत र तस्करी रोकिएका छैन।
जसका कारण सीमाक्षेत्रका बस्ती संक्रमणको उच्च जोखिममा छन्।
नेपालमा सुरुवाती चरणमा देखिएका संक्रमितमध्ये अधिकांश भारतका थिए भने केही मात्र तेस्रो मुलुकबाट आएका नेपाली थिए। बैधानिक बाटो भएर आएका नागरिकले संक्रमण नफैलाएपनि चोरबाटोबाट आउने नागरिकबाट संक्रमण फैलिरहेको छ। उनीहरु क्वारेन्टिन नबस्ने र कुनै तथ्यांकमा नदेखिने भएकाले सहजै गन्तव्यमा पुगिरहेका छन्। भारतबाट आउने अधिकांशमा संक्रमण देखिएकाले नेपालमा उनीहरुबाटै संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरु बताउँछन्।
रुपन्देहीमा पनि पछिल्लो समय दिनहुँ समुदायस्तरमा संक्रमितहरु भेटिन थालेका छन्। परिक्षणको पहुँचमा पुगेकालाई संक्रमण भएको थाहा भएपनि पहुँचबाट टाढा रहेका अन्य नागरिकको परिक्षण नभएसम्म महामारी रोकिनुको साटो झनझन बढ्दै जाने जोखिम छ।
भारतमा महामारी फैलिएको बेला सिमा क्षेत्रमा मौलाएको तस्करीका कारण सीमा नजिकका बस्तीहरुमा कोरोना संक्रमणको जोखिम उच्च छ।
लकडाउनपछिका सुरुवाती दिनहरुमा लुकिछिपी स्वदेश फर्किएकाहरुलाई स्थानीय तह र स्थानीयको सहयोगमा क्वारेन्टिनमा राखिएपनि अहिले सो काम पनि बन्द भएको छ, जसले कतै आउनेजाने नगरेका व्यक्तिहरु नै उच्च जोखिममा रहेका छन्।
भारतबाट वैधानिक बाटो भएर आउने नागरिकहरुलाई प्रतिमान निमा ईन्ष्टिच्युटमा बनाइएको होल्डिङ सेन्टरमा राखी सम्बन्धित पालिका र प्रशासनलाई जानकारी गराएपनि अवैध बाटो भएर लुकिछिपी आउनेहरुको अत्तोपत्तो छैन।
संक्रमण समुदायस्तरमा बढ्दै गएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरिय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) का संयोजक महादेव पन्थको नेतृत्वमा ‘क्विक रेस्पोन्स टिम’ र पालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ‘ईमिडिएट रेस्पोन्स टिम’गठन गरिएको छ।
रुपन्देहीमा बैक र सरकारी कार्यालयहरुमा पनि संक्रमण देखिएको छ। ‘पहिला कोरोना भाइरसको संक्रमण नियन्त्रणमा थियो अहिले एकाएक बढेको छ, समुदायमा पनि फैलिन थालेको देखिएको छ, प्रमुख जिल्ला अधिकारी पन्थले भने–नियन्त्रण गर्नका लागि विभिन्न उपायहरु अवलम्बन गरेका छौ।’