काठमाडौँ । सरकारले विभिन्न ६ वटा जिल्लाका ७ स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले रास्कोट नगरपालिका–६ कालीकोट, नरहरिनाथ गाउँपालिका–२ कालीकोट, राप्तीसोनारी गाउँपालिका–४ बाँके, रम्भा गाउँपालिका–३ पाल्पा, शीतगङ्गा गाउँपालिका–१३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका–५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारीलाई नियुक्त गरेको छ ।
त्यसैगरी बैठकले राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।