गुल्मी– बिहीबार राति १० बजेबाट चट्याङ्गसहित ठूलो पानी पर्यो । मध्यरातमा पानी ठुलो परेपछि इस्मा गाउँपालिका १ हस्तिचौरकी कमला सारु निदाएकी थिइनन् । घरबाटै गोठमा सुतेका छोरा बुहारीलाई पटक–पटक नबोलाएकी होइनन् ।
तर टीनको छानो र निकै ठुलो पानी परेकाले सुनेनन् । कमलाले बोलाउँदा–बोलाउँदै ठुलो आवाजमा पहिरो खस्यो । आँखा अगाडि नै गोठसंगै छोरा बुहारी र नाति बगे ।
करिव एक सय मिटर तल पुगेकी बुहारी सिर्जनाले आमा भन्दै गुहार मागिन् । छोरा बसन्त बोल्न सकेनन् । कमलाका हातखुट्टा सेलाए, लाइटको सहाराले छोरा–बुहारी जिवित देखिन् । उद्धार गर्ने उपाय आएन, कमला छिमेकी खोज्न गइन् । कसैले पहिरोमा पस्ने हिम्मत गरेनन् । बसन्त आफैले श्रीमतीलाई तानेर घरमा ल्याए ।
आँखा वरिपरी घुम्छन्, सिजन
शनिबार बिहान मात्रै कमला सारुको घरको पालीमा बाँधेको डाँडी निकालियो । सिजनको हो ?–लुम्बिनी टाइम्सकर्मीले सोधे । उनले रुदै जवाफ फर्काइन्, –‘हो बाबु । अझै आँखा वरिपरी देख्छु, मेरो मुटुको टुक्रालाई दैवले खोस्यो, सबै कुरा बुझ्थ्यो, अब डाँडी नफुकाएर के गर्नु नाति फर्किदैन ।’
सिजन सारु १८ महिनाका थिए । राम्रोसँग बोली फुटेको थिएन । बाबा–आमा र हजुर आमाका असाध्यै प्यारा ।
सिजन राती आएको पहिरोमा बेपत्ता थिए । शुक्रबार बिहान मात्रै मृत भेटिए । आमा सिर्जना अचेत भइन् । हजुरआमा कमला सारुको शरिरमा अझै घाम लागेको छैन । शनिबार स्थानीयले गोठसंगै पहिरोमा पुरिएका सामान खोज्दै थिए ।
सोही क्रममा कमलाले नातिका एक जोर कपडा फेला पारिन् । ‘भर्खरै मैले किनेका कपडा हुन्, कसरी मन थाम्ने बाबु,’–कपडा देखाउँदै उनले भनिन,–‘ भुल्ने कुनै उपाय छैन ।’
पहिरोसँगै छोरी अंगालोमा
हस्तिचौरकै इश्वरा खत्री सात बर्षीया छोरी अपेक्षालाई अंगालोमा बेरेरै पहिरोसंग निकै तल पुगिन् । बाँसको गाँजमा इश्वरा अड्किन । छोरी रोक्ने उपाय भएन । पहिरोले अपेक्षालाई बगरमा पुर्यायो । इश्वराको टाउको मात्रै बाहिर थियो । स्थानीयले सजिलै उद्धार गर्न सकेनन् । लामो समय पहिरोमै रहिन् । स्थानीय सडक सबै अवरुद्ध भएका कारण एक गाउँबाट अर्को गाउँ जाने उपाय थिएन ।
‘रातिनै खबर आए पनि पुग्ने स्थिति थिएन उज्यालो भएपछि मात्रै घाइतेको उद्धार गर्यौ,’–वडा सदस्य जंग बहादुर खत्रीले भने,–अपेक्षाको शव पनि शुुक्रबार अवेर मात्रै फेला पारेका हौँ ।’ पहिरोसंगै बगेका इश्वरा, पुतला र टीका बहादुर खत्री घाइते छन् ।
न घाँटी भिज्ने पानी, न ज्यान जोगाउने सडक
पहिरोले घरगोठ मात्रै बगेनन् । गाउँमा ओठ भिज्ने पानी समेत पाइदैन । सयौ घरले पिउँदै आएका खानेपानीका मुलहरु पहिरोले पखालेर लग्यो ।
पहिरो प्रभावित गाउँ मल्दीकी ७८ बर्षीय रामकुमारी सारुले सडकमा मुल फुटेर बगिरहेको पानी भर्दै थिइन् ।
‘यो पशुचौपायालाई हो खानलाई अझै एक गाग्रो घरमा रहेछ,’–उनले भनिन,‘अब उपाय नभए यो पानीनै खाने हो ।’
पहिरोले मुल बगाएपछि स्थानीयले खुल्ला बगिरहेको पानी पिउन बाध्य भएका छन् भने पहिरो आउँदा भागेर ज्यान जोगाउने सडक छैनन् ।
नजिक–नजिकमै थुप्रै पहिरा छन् ।
जमिन चर्किएकाले फेरि बग्ने र खस्ने सम्भावना उत्तिकै छ । पहिरोबाट विस्थापित परिवार अहिले हिमालय माविमा बस्दै आएका छन् । उनीहरु घाम लागे पशुचौपायाको लागि बिहान घर पुग्छन् । पानी परे गाउँ नछोडे उपाय छैन । ‘पुरै गाउँ बग्ने र चर्कने भए, भाग्ने सडक र जोगिने ठाउँ छैन,–’बिस्थापित प्रकाश सारुले भने,–‘न घर न घाट बनायो ।’