काठमाडौं -सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी राखेको लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकभित्र संक्रमणको जोखिम बढेपछि अन्तिम समयमा स्थगित गरेको एसइई परीक्षा यस वर्ष नलिने निर्णय गरेको हो ।
शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको छ ।
विद्यालयहरूको आन्तरिक मुल्यांकन र सेन्टअपलाई आधार गरेर विद्यार्थीको मुल्यांकनको स्थानीय तहले सत्यापन तथा प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्ड समक्ष सिफारिस गर्ने सोही आधारमा बोडले ग्रेडिङ गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिम अझै कायमै रहेकाले यस वर्षको एसईई परीक्षा नलिन निर्णय गरेको जानकारी दिंदै सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भने, ‘ विद्यालयहरूको आन्तरिक मुल्यांकन र सेन्टवमा उनीहरूले पाएको ग्रेडको आधार बनाएर परीक्षा बोडले नयाँ ग्रेडिङ गर्ने छ ।’ त्यसरी प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
त्यसैगरी सरकारले जारी लकडाउनलाई पनि खुकुलो बनाउने निर्णय गरेको छ । जनताको दैनिक जनजिवन सहज बनाउन काठमाडौं उपत्यकासहितका जोखिम कम भएका जिल्लाहरूमा पसलहरू, निजी सवारी साधान, उद्योग व्यवसाय सुचारु गर्ने निर्णय गरेको छ ।
तर, स्वास्थ्य सावधानी र सामाजिक दूरीलाई भने कायम राख्नु पर्ने निर्णय गरेको छ । कृषि, ढुवानीलाई पनि सहज बनाउने निर्णय गरेको छ ।
यी क्षेत्र खुल्नेछन्
१. स्वास्थ्य सेवा सबै
२. औषधी, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा माछा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४. फोहोर मैला व्यवस्थापन
५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धी सेवा
६. बैक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा
७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८. कृषि बिउबिजन, रासायनिक मल, कषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य
९. उत्पादनशील उद्योग
१०. निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११. विकास आयोजना
१२. नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रिवितरण
१३. निर्माण कार्य
१४. रेष्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा
१५. क्वारेन्टिनका लागि तोकिएका होटल
१६. विजुली सामान विक्री र मर्मत
१७. विद्युतीय उपकरण, मेशीन र सवारी साधनको मर्मत गर्ने वर्कसप
१८. पुस्तक पसल तथा स्टेशनरी
१९. सबैप्रकारका ढुवानी सेवा
२०. अत्यावश्यक सेवाका सबै कार्यालय
२१.अन्य सरकारी कार्यालय गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैठक तथा वित्तीय संस्थानहरु (सामान्यतया ५० प्रतिशत कर्मचारी रहनेगरी )
निम्न सेवा र कार्यमा भने लकडाउन जारी रहनेछ:
१) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)
२) सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)
३) सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल
४) अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान
५) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत
६) सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन
७) २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार
८) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९) स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर
१०) खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति
११) पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन
१२) बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।