रुपन्देही । नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गरी देशको रक्षा गरेको स्मरण गर्दै आज बुटवलको जितगढीमा विजयोत्सव गरिएको छ ।
वि.सं. १८७२ वैशाख ७ गते पाल्पाका तत्कालीन कर्णेल उजीरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले विरता र निडरताका साथ लडाई लडेर विजयको झण्डा फहराएको थियो ।
इतिहासविद् निर्मल श्रेष्ठका अनुसार युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.स.१८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ ।
सोही इतिहासको सम्झना गर्दै बुटवल उपमहानगरपालिकाले हरेक वर्ष नेपाली वीरताको चिनो बुटवलको जितगढी किल्लामा कार्यक्रम गरी विजयोत्सव मनाउँदै आएको छ ।
“यो विरगाथाले भरिएको क्षेत्र हो, सबैको सहयोग सहकार्यमा जितगढीको विकास सम्भव भएको हो । यसको अझै विकास गरेर पर्यटनसँग जोड्नुपर्छ”, विजयउत्सव समारोहमा प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोज प्रसाद श्रेष्ठले भन्नुभयो ।
१८७१ देखि १८७२ सम्म नेपाल÷अंग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । तर, वैशाख ७ गते भएको अन्तिम युद्धमा नेपाली सेना विजयी भएको थियो । सोही खुशीयालीमा आज जितगढी किल्लामै विजय उत्सव मनाइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनुभयो । “बुटवलको भूमिबाट युद्ध नजितिएको भए आज हामी स्वाभिमानी हुने थिएनौ तर युुद्ध जित्याँै त्यसैले गर्व गर्न पाएका छौँ”, उहाँले भन्नुभयो ।
बुटवल उपमहानगरपालिकाले गुरुयोजना नै बनाएर जितगढीको संरक्षण र विकासको काम अघि बढाएको थियो । उपमहानगरले सबै सरोकारवालाको सहयोगमा हरेक वर्ष विजयोत्सव मनाउने घोषणा गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो । “यो गौरवमय इतिहासलाई सबैले जान्न र बुझ्न पाउनुपर्छ यसका लागि हरेक वर्ष विजयोत्सव आयोजना गर्ने घोषणा गरेका छौँ”, उहाँले भन्नुभयो ।
केहिवर्ष अघिसम्म सुसुप्त अवस्थामा रहेको यो गढीको गुरु योजना बनाएर काम थालेपछि अहिले रुप नै फेरिएको उपमहानगरपालिका निवर्तमान प्रमुख शिवराज सुवेदीको भनाइ छ । “यो देश बचाउन विर र विरङ्गनाले युद्ध लडेको भूमि हो, यहाँ कैयौ महिला सैनिकसँगै बच्चा बोकेर पनि लडेको इतिहास छ, त्यसैले यसको जगेर्ना गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।
बुटवल उपमहानगरपालिकाले गुरुयोजना नै बनाएर यो किल्लाको संरक्षण र सम्वद्र्धनको काम थालेको थियो । सोही गुरुयोजना अनुसार किल्लाको संरक्षण र विकासमा नेपाली सेना सक्रिय भएर लागेको थियो । “यो नेपाली सेनासँग जोडिएको इतिहास हो, इतिहासको रक्षा गर्नु नेपाली सेनाको कर्तव्य हो, त्यसैले यसको संरक्षण, सम्वद्र्धन र विकासमा अथक प्रयत्न गर्यौँ”, नेपाली सेनाको मध्य पश्चिम पृतना बुटवलका पृतनापति यामप्रसाद ढकाल भन्नुहुन्छ ।
जितगढी किल्लामा अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकहरूको शालिक निर्माण गरिएको छ । उक्त लडाइँमा विरगती प्राप्त गरेका तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतको सालिक बनाइएको हो ।
सो क्षेत्रमा अहिले ९ फिट उचाइको पूर्णकदको तामाको सालिक निर्माण गरिनुका साथै ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ ।
वीरतापूर्वक अंग्रेज फौजमाथि विजय प्रात गरेको सोही स्थानको संरक्षण र प्रवद्र्धनका लागि वीर योद्धाहरूको शालिक, वाटर फाउण्टेन र झिलिमिली बत्ती सहितको फूलबारी र नजिकै युद्ध संग्रहालय समेत निर्माण गरिएको छ भने मध्यभागमा नेपालको झण्डा राखिएको गेटको दुवैतर्फ तोप राखिएका छन् ।