कोबाड गांधी एक कम्युनिष्ट र जाति-विरोधी कार्यकर्ता हुन्। उनले दिल्ली, आंध्र प्रदेशसहित भारतका धेरै जेलमा ‘हाइप्रोफाइल’ राजनीतिक कैदिको रुपमा एक दशक विताएका छन्। जब उनलाई २००९ मा पहिलोपटक गिरफ्तार गरिएको थियो त्यतिबेला उनलाई ‘बरिष्ठ माओवादी नेता’ भएको आरोप लगाइएको थियो। अहिले अदालतले उनलाई त्यस्ता आरोपबाट सफाई दिइसकेको छ। २०१९ को बर्षान्तमा जेलबाट बाहिर आएर उनले आफ्नो जीवनको अनुभवहरुलाई सिलसिलेवार लेख्न शुरु गरे। साम्यवादतर्फको उनको झुकाव, महाराष्ट्रमा दलित प्यान्थर्सको स्थापना, आफ्नी दिवंगत जीवनसाथी अनुराधा र देशमा रहेका जेलको भौतिक स्थितीका बारेमा उनले किताब लेखेका छन्। गत मार्चमा उनको फ्र्याक्चर्ड फ्रिडम: ए प्रिजन मेमोअर नामको किताब प्रकाशित भएको छ। भारतका स्वतन्त्र पत्रकार तथा कानूनका विद्यार्थी सबा गुरमतले कोबाडसँग गरेको कुराकानीको अनुवादित र संपादित अंश यहाँ विमर्षका लागि प्रस्तुत गरिएको छ:
आज पनि कम्युनिष्ट पार्टीहरु ब्राह्मणवादी नेतृत्वको हातमा छ। उनीहरुले चोटिला जातसम्बन्धी मुद्दाहरुलाई नजरअन्दाज गरेको जस्तो देखिन्छ। उनीहरुको दृष्टिकोणमा केही परिवर्तन देख्नु भएको छ?
कम्युनिस्ट पार्टीहरुको नेतृत्व ब्राह्मणहरुको हातमा छ। यिनीहरुले जातिसम्बन्धी मुद्दाहरु उठाउन हिच्किचाउँछन्। चाहे जनशक्ति समूह होस् या केही मार्क्सवादी-लेनिनवादी मोर्चा, पहिले जातिको सवालको नजरअंदाजी सैद्धान्तिक स्तरको तुलनामा व्यवहारिक स्तरमा अधिक थियो।
मैले दलित प्यान्थर्सका नेताहरुलाई चिनेको छु। म आफै पनि जमिनी स्तरमा काम गरिरहेको थिएँ। त्यतिबेला म वर्लीमा मायानगरमा थिएँ जहाँ शिवसेनासँग संघर्ष भएको थियो। मैले सिद्धार्थ विहार कलेजको होस्टेलमा दलित प्यान्थर्सका नेताहरुसँग भेटेको थिएँ। मैले यो मुद्दाको अध्ययन गरेको छु। धेरै कम्युनिस्टहरुसँग कुरा पनि गरेको छु। त्यो समय वास्तवमा केही ले यसो पनि भने, “शिवसेना लुंपन (lumpin) हुन्। मराठा-मराठा गर्नेहरु जसरी लुंपन हुन्, त्यसरी नै दलित-दलित गर्नेहरु पनि लुंपन हुन्।”
तर म जमिनी स्तरमा काम गरिरहेको थिएँ। त्यसैले मलाई जाति उत्पिडन अधिक छ भन्ने कुराको यकीन थियो। हामीले जति एमएल हलहरु या समूहहरुलाई सम्पर्क गरेपनि त्यहाँबाट कुनै प्रतिक्रिया आउँथेन। त्यसपछि मैले लेख्न शुरु गरेँ। अनुराधाले पनि यहीँ गरिन्।
हामी दुबैजना मिलेर फ्रन्टियरमा लेख्यौं: “जातिको सवालमा मार्क्सवादी दृष्टिकोणबाट ध्यान दिन किन जरुरी छ?” मलाई लाग्छ १९७८ मा यो लेख आएको थियो। यसैगरी मराठी प्रकाशन सत्यशोधक मार्क्सवादमा पनि एक लामो लेख छापियो।
त्यो समय महाराष्ट्रमा काफी मंथन चलिरहेको थियो। नामांतर आन्दोलन हिन्दूवादीको खिलाफ थियो। यो मराठवाडा विश्वविद्यालयको नाम बदलेर बीआर अंबेडकरको राख्ने आन्दोलन थियो। त्यसैले ती मार्क्सवादीहरुले पनि जाति आन्दोलनप्रति आग्रह राखेनन् किनभने वास्तवमा यहाँ दलित नेतृत्ववाला आन्दोलन व्यापक थियो। तर देशको अरु भागमा स्थिती के थियो भनेर मैले बुझेको थिएन। एमएल नेतृत्वको अधिकांश हिस्सा आंध्रका मानिसहरुबाट बनेको थियो र मलाई लाग्दैन कि आंध्रका मानिसहरुले यस्तो खाले मन्थन गर्ने गरेका थिए।
प्रसिद्ध कम्युनिस्ट क्रान्तिकारी कवि गदर दलित थिए। अधिकांश प्रशिद्ध गायक तथा साँस्कृतिक मण्डली पनि दलित नै थिए। आह्वान नाट्य मंच, विलास घोगरे, संभाजी भगत, कबीर कला मंच, यी सबै क्रान्तिकारी गायक, प्रतिभाशाली कलाकार थिए। यिनीहरुले जुन भाषामा प्रदर्शन गरेपनि दर्शकको मन जित्थे।
यदि व्यवहारिक स्तरमा हेर्नेहो भने मैले यी तर्कहरु पनि सुनेको छु, यिमध्ये केही प्रतिभाशाली व्यक्तिहरु धेरै गरिब थिए। भयानक परिस्थितीमा बाँचिरहेका थिए। त्यसैले स्वभाविक रुपमा मलाई लाग्छ उनीहरु आफ्नो स्थितीमा बदलाव देख्न चाहन्थे। र, त्यो बदलाव उनीहरुले कम्युनिस्ट आन्दोलनभित्र देख्न सकेका थिएनन्। त्यसैले उनीले कम्युनिस्ट आन्दोलन छाडे। यस्तो पनि भएको छ, मैले देखेको छु।
एकातर्फ वामपन्थी मानिसहरु आफ्नो अजेण्डामा जातिवादलाई लिइरहेका थिएनन्, अर्कातर्फ जो मानिसहरु दलितमाझ पहिचानको राजनीतिलाई बढावा दिइरहेका थिए उनीहरुले सबै वामपन्थ ब्राह्मणवादी हुन् भनेर भन्थे। यो कुराले दलित र कम्युनिस्ट आन्दोलनबीच दूरी बढाइरहेकव थियो।
तर मलाई लाग्छ तीन कारणले वामपन्थीले दलित आन्दोलनलाई आत्मसात गर्न सकेका सकेका थिएनन्। पहिले त भारतको वामपन्थ ‘लकिर का फकिर’ जस्तै छ। उनीहरुले मार्क्सवाद, माओवाद या जे सुकै भनेपनि यहाँको स्थिती अनुसार व्याख्या गरेनन्। उनीहरुले आँखा बन्द गरेर चीन, रुसबाट बामपन्थी बिचार उधारोमा लिएका छन्। त्यस्ता बिचारले जातिको बारेमा केही पनि बोल्दैन। वास्तवमा यता भारतको परिघटना भने जातिमा आधारित छ। त्यसैले उनीहरुले यसको संकल्पना गर्न नै सकेनन्।
दोस्रो पाटो यो हो कि दुनियाभर धेरैजसो वामपन्थी आन्दोलन विद्यार्थीहरुले शुरु गरे। शिक्षा प्रणालीको प्रकृतिको कारण त्यस्ता आन्दोलनमा धेरै संख्यामा उच्च जाति सहभागी थिए।
जब हाम्रो शिक्षा प्रणालीले उच्च जातिलाई बेहिसाब लाभ पुर्याउँछ भने पक्कै नेतृत्व पनि उनीहरुबाट नै आउँछ।
यदि तपाइँले शिक्षा प्रणाली बदल्नुहुन्छ भने यसमा केही परिवर्तन हुन सक्छ। खास समस्या नेता आफ्नो सोचलाई पूर्णरुपमा सुधार्न र आफ्नो सोचमा उल्झिएको आफ्ना पूर्वाग्रहलाई जडबाटै उखेलेर फ्याँक्न सक्षम नरहनु नै हो।
मैले धेरै समयपछि मनोविज्ञानको दायराबाट यसलाई बुझ्ने कोशिश गरेको छु। हाम्रा बिचारहरुमध्ये धेरै बचपनबाटै हाम्रो दिमागमा छन्। फ्रायडले यसलाई “अवचेतन मन” भनेका छन्। यो हाम्रो पहिलो ५ देखि १० बर्षमा बहुत गहिराईबाटै मनमा ‘प्रोग्राम्ड’ भएर बसेको हुन्छ। मार्क्सवादीहरुको समस्या यही हो कि उनीहरुले सामाजिक अस्तित्वले चेतनालाई निर्धारित गर्छ भनेर पढेका त छन् तर हाम्रो अवचेतनमा बचपनको कस्तो प्रभाव पर्छ भनेर कसैले सोचेका छैनन्। यसैकारण हाम्रो हाफ्नै वृत्तभित्र पनि जाति अथवा पितृसत्ता निकै स्पष्ट तरिकाले देखा पर्छ।
एकातर्फ यस्तो मनोवैज्ञानिक अवचेतन गहिराईमा छ। अर्को तर्फ हाम्रो सामाजिक वातावरण पनि बहुत सामान्ति छ। त्यसैले बिचारधारामा आएको बदलावले एकाएक हाम्रो सोच र भावनालाई बदल्न सक्दैन।
मलाई सुजाता गिडलाको किताब ‘एन्ट्स अमंग एलिफेन्ट्स’ याद आउँछ। किताबमा कमरेड सत्यमूर्तिको कहानी निकै मर्मस्पर्शी छ, जसमा रेड्डी जातिले कस्तो व्यवहार गरे भनेर बताइएको छ। यसो त उनी अनुसूचित जातिप्रति उदार थिए। तर उनले आफ्नो घरमा ती जातिहरुलाई कहिल्लै आमन्तरण गर्दैनथे। उनी त्यस्ताखाले ‘उदार’ थिए जसमा अग्रगमन थिएन। पितृसत्ता पनि त्यस्तै हो- यतिसम्म चाहीँ उदार तर योभन्दा ज्यादा होइन।
यदि तपाई हिन्दी बेल्टमा जानुभयो भने उत्तरप्रदेश जस्तो राज्यमा पनि यस्तो सामाजिक सूधारको आन्दोलन भएको थिएन जस्तो महाराष्ट्रमा भएको थियो। उत्तप्रदेशमा तपाइँले जातिवाद र पितृसत्ता जस्ता मुद्दामा ‘उदार’ सोच पाउनुहुन्न। यो लाजमर्दो ब्राह्मणवाद हो।
तेस्रो कारण हो, नेतृत्वको ‘व्यावहारिकता’। तथ्यात्मक रुपमा धेरैजसो कम्युनिस्ट क्याडर ओबीसी हुन्, दलित केबल अल्पसंख्यक होलान्। यसैले उनीहरुको जातिगत भावना मजबूत भयो। मजदूर वर्गमा आन्दोलनको मुद्दा केवल आर्थिक हुन्छ। किसान संघहरुलाई हेर्नुहोस्, उनमा जाट या गुर्जर जातिको बर्चस्व छ। मजदूर वर्गका ट्रेड यूनियन आन्दोलनलाई हेर्नुहोस्, यी सबैमा ओबीसी अधिक छन्।
यदी तपाइँले आन्दोलनलाई जातीय भावनालाई छाड्नुपर्छ, तपाइँले यसो गर्नुपर्छ, उसो गर्नु पर्छ भनेर भन्न थाल्नुभयो भने किसानको आन्दोलन या ट्रेड आन्दोलन आर्थिक मागबाट पनि टाढा जान सक्छन्। त्यसैले धेरैजसो नेतृत्वले अहिलेलाई आर्थिक मुद्दा उठाउँ, जातको मुद्दा पछि सोचौंला भन्ने सोच्छन्। यो वास्तवमा एउटा व्यवहारिक समस्या हो जसको समाधान पाउन वास्तवमै मुश्किल छ।
त्यसपछि उनीहरु आर्थिक मागहरुसँग मात्र टाँसिएर रहन्छन्। किनभने कसैको मानसिकतामा जातिगत भावना र पितृसत्तावादी सोच बदल्न कोसिस गर्नु टाउको दुखाईको काम हो, होइन र?
यदी कसैले आफ्नी पत्नीलाई पिट्छ भने तपाइँ चुप बस्नुहुन्छ र भन्नुहुन्छ, “उ त युनियन लिडर हो। उसका बच्चा छन्। उसलाई जान देउ। समाजमा यस्तो त भइरहन्छ।” अनि यस्तो मुद्दा तल दबिन्छन्।
आफ्नो तर्फबाट हामीले महसुस गर्नुपर्छ, जातको समस्यालाई हामीले गम्भीर रुपमा नलिनु नै हाम्रो ठूलो समस्या हो। हामीले आफैलाई सही पार्नु पर्दै भारतमा जातको विनाशबिना लोकतान्त्रिकरण सम्भव छैन भन्ने कुरा बुझ्नु पर्दछ। यो कुरा जनवादी क्रान्ति चाहने सबै मार्क्सवादीहरुका लागि हो। चाहे उनीहरु दक्षिणपन्थी संसदीय मार्क्सवादी होउन् या चरम माओवादी!
जात व्यवस्था जन्मबाटै गैरबराबरी, दमनकारी र विभाजनकारी हुन्छ। हिंदू-मुसलमान पनि एक किसिमको विभाजन त हो तर जातिले भारतलाई हजार तरिकाले तोड्छ। त्यसैले देशमा कुनैपनि लोकतान्त्रिक परिवर्तनका लागि जाति व्यवस्थाको जरैबाट समाप्त गर्नुपर्दछ। समाप्तको अर्थ कानूनी तवरले मात्रै अन्त्य गर्नु होइन। जाति हाम्रो दिमाग, व्यवहार र चेतनाबाटै हट्नु पर्दछ।
१९७० को दशक परिवर्तनको समय थियो। जसको विषेशता संगठनका नेतृत्वमा जन्मिएको आन्दोलनहरु जस्तो कि नक्सलवादी अथवा दलित प्यान्थर्सदेखि लिएर ट्रेड-युनियन अन्दोलनसम्म थियो। समयसँगै हामीले यी आन्दोलनमा गम्भीर दरारहरु देखिरहेका छौं। आज ट्रेड युनियन र श्रम कानून कमजोर हुँदै गइरहेको पनि देखिरहेका छौं। यस्तो अभूतपूर्व निजीकरण अथवा क्रोनी क्यापिटलिज्म राजनीतिक अर्थव्यवस्थामा अगाडिको बाटो के होला?
समस्या यही हो। आज कुनै पनि राजनीतिक दलले यसको पूर्णरुपमा विरोध गरेका छैनन्। सीपीआई र सीपीआई(एम) नवउदारवादको विरोध त गर्छन् तर निकै अस्पष्ट शब्दहरुमा । अहिले परिस्थिती हाम्रो समयको जस्तो छैन। त्यतिबेला हामीहरु ‘अमीर बाम गरीब’ भन्थ्यौं। हाम्रो समयमा जस्तो अब त्यती सजिलो पनि छैन। मुठ्ठीभरका कर्पोरेट मालिकहरु बाँकी सबै जनताका विरोधमा उभिएका छन्। वास्तवमा यही कारणले मैले भन्ने गर्छु, बजाज मण्डल क्रोनी-पूँजीवादका अडाणी-अम्बानी मण्डलभन्दा ठिक छ। आर्थिक परिवर्तन ल्याउनका लागि तपाइँलाई एक राजनीतिक पार्टी आवश्यक पर्छ। परिवर्तन आफै हुने कुरा होइन। त्यसैले मैले भन्ने गर्छु, एक यस्तो विरोधको आवश्यकता छ जसको आकार नवउदारवादको खिलाफ स्पष्ट रहोस्।
किसानको आन्दोलन अहिले जुन कारणले भइरहेको छ, पहिला यो कांग्रेस नै थियो जसले यस्ता खाले कानूनहरु अगाडि बढाएको थियो। पूर्वकृषिमन्त्री सरद पवार यस्ता कानून अगाडि बढाउने वस्तुकारमध्येका एक हुन्। अहिले उनी किसानहरुको समर्थनमा उभिइरहेका छन्। त्यैपनि यसलाई ठिक नै मान्नुपर्छ। तर यस्तो चीजमा भर पर्न सक्नुहुन्न।
नवउदारवादी नीतिहरु आजभन्दा पहिलेदेखि नै अधिक आक्रामक भइसकेको छ। म जेलमा हुँदा यो विषयमा एउटा लेख पनि लेखेको छु। जसको शिर्षक थियो, ‘सच्चा राष्ट्रवादी कृपया उठ्नुहोस्।’
पूजीपतिहरुले आफ्नो पैसा विदेशमा राखेका छन्। उनीहरुले हाम्रो देश लुटिरहेका छन्। ब्रिटिश उपनिवेशवादीहरुले हिजो जे गरेका थिए, यी क्रोनी पूँजीपतिहरुले आज त्यहीँ नै गरिरहेका छन्। यिनीहरु नवउदारवादका उपकरणहरु हुन्। समष्टिमा प्रश्न यो हो, आज कुनै राजनीतिक मञ्चको उभार होस्। जसको नवउदारवादमा एक स्टण्ड होस्। योबिना तपाइँले परिवर्तनको आशा राख्न सक्नुहुन्न।
-कारावां म्यागेजिनमा प्रकाशित यस अन्तर्वार्ताको अंश जीवराज चालिसेले अनुवाद गरेका हुन्।