जाजरकाेट : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा काम शुरु भएलगत्तै स्थानीयवासीले अवरोध गरेका छन् ।
जिल्लामा गर्न लागिएको कालोपत्र गुणस्तर राम्रो नभएको भन्दै स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकसहित लोकमार्गका कर्मचारीलाई समेत ध्यानाकर्षण गराएका छन् ।
अहिले पहिलो खण्डको कुदुदेखि कार्कीगाउँसम्म ३५ किलोमिटर सडक कालोपत्र गर्न शुरु गरिएको छ । स्थानीय युवा दिनेश गौतमले ठेकेदारलाई राम्रोसँग काम गर्न आग्रह गर्दा उल्टै धम्क्याउँदै हिँडेको आरोप लगाए ।
जगतीपुर पुगेका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा, प्रहरी नायब उपरीक्षक मधुकुमार थापा र मध्यपहाडी लोकमार्गका प्राविधिक रवीन कार्कीको स्थानीयवासीले ध्यानाकर्षण गराएका हुन् ।
पटकपटक आग्रह गर्दा पनि माग सुनुवाइ नभएपछि प्रमुख जिल्ला अधिकारीसँग गुनासो गरेको स्थानीयवासी केशव शर्माले बताए ।
प्रजिअ देवकोटाले गुणस्तर कम भएको ठाउँमा तत्काल फेरि काम गर्न निर्देशन दिएका छन् । काम भइरहेको सडकको स्थलगत अनुगमन गर्दा लोकमार्गको कुदुदेखि जगतीपुरसम्म सडकको गुणस्तर कम रहेको पाइएको थियो । प्रजिअको निर्देशनपछि निर्माण कम्पनीले बाँकी काम गर्न सहमती जनाएको छ । रासस