सिमकाेट : यही असार २१ गते आफ्नै घर चङ्खेली– १ रिमी बोहराबाडामा हृदयाघात भई तीन दिनपछि हेलिकप्टरबाट गङ्गलाल हृदयरोग केन्द्र लगिएका हीरा बोहरालाई काठमाडौँ पुर्याउनु नै ठूलो खर्च लाग्दा उपचारमा अर्थअभाव भएको हो ।
उनलाइ हृदयाघात हुने बित्तिकै मुगु जिल्ला अस्पताल पुर्याउन र त्यहाँबाट हेलिकप्टर चार्टर गरेर काठमाडौँ पुर्याउनै रु आठ लाखको हाराहारीमा खर्च भयो । उपचारमा संलग्न उनकी श्रीमती सम्झना रोकायाले भनिन्, “हामीसँग भएको सबै रकम काठमाडौँ पुर्याउने भाडामै सकियो, अब उपचार गर्न ठूलो आर्थिक समस्या परेको छ ।”
हीराको जिल्ला अस्पताल मुगुमा दुई दिन राख्दासमेत स्वास्थ्यमा सुधार नआएपछि शनिबार हेलिकप्टर चार्टर गरेर गङ्गालाल हृदयरोग केन्द्रको सिसियुमा राखेर उपचार गर्दा दैनिक रु ३० हजारका दरले खर्च भएपछि तीन दिनमै उपचारमा अर्थाभाव भएको उनकाे हेरचाहमा खटिएकी सम्झनाले बताइन् ।
एक वर्षको कान्छो छोरा काखमा च्यापेर श्रीमनकाे उपचारमा संलग्न सम्झनाले रुँदै फोनमा भनिन्, “क्याम्पमा पढाएर कमाएको पैसा हेलिकप्टरको भाडा तिर्न पनि पुगेन अब उपचारका लागि लाग्ने दैनिक रु ३० हजार कहाँबाट ल्याउने ? सिसियुमा मृत्युसँग लडिहनु भएको उहाँलाई मृत्युको मुखबाट फुत्काउन नसकिएला जस्तो छ ।”
घरको आर्थिक अवस्थाले उनकाे उपचार सम्भव हुन नसक्ने निष्कर्षमा पुगेकी सम्झनाले आफ्नो नाबालक छोराकै लागि भए पनि श्रीमानलाइ आर्थिक सहयोग गरेर बचाइदिन सार्वजनिक रुपमा अपिल गरे ।
हीरा बचाउन अभियान शुरु
उपचारका लागि आर्थिक अभाव भएपछि सामाजिक सञ्जालमार्फत ‘हीरा बचाउ अभियान’ शुरु गरिएको छ । मुगुबाट काठमाडौँ लगिएको हेलिकप्टरको भाडा र उपचारमा दैनिक हुने खर्चकै अभाव भएपछि समाजकल्याण परिषद्का सदस्य तथा किर्डाक नेपालका निर्देशक गोविन्दबहादुर शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार अभियानको शुरुवात गरेका हुन् ।
काठमाडौँ ल्याउने बित्तिकै अस्पताल प्रशासन र चिकित्सकसँगको परामर्शमा हीरालाई उपचार गराए सञ्चो हुने खबर पाएपछि आर्थिक अभावकै कारण समस्या सिर्जना नहोस् भन्नका लागि केही साथीहरुसँगको परामर्शमा अभियान शुरु गरेको उल्लेख गर्दै शाहीले सकेको आर्थिक सहयोग गर्न देश विदेशमा रहेका सबैलाई अपिल गरेका छन् ।
अभियानमा सहयोग गर्न इच्छुकले उनकी श्रीमती सम्झना रोकायाको राष्ट्रिय वाणीज्य बैंक सीमकोट शाखामा रहेको बचत हिसाब नं ४१९०१००००९९८२०१० मा जुनसुकै स्थानबाट पनि रकम जम्मा गर्न सकिने शाहीले जानकारी दिए । रासस