बलेवा : छिमेकी पर्वतको कुश्मा र बागलुङ दैनिक धेरै कर्मचारी आउजाउ गर्छन् । धेरै कर्मचारी पर्वतबाट बागलुङ आउनुपर्ने छन् । बागलुङबाट कुश्मा जाने पनि केही छन् । काम विशेषले दुई जिल्ला आवतजावत गर्ने झनै धेरै छन् ।
मङ्गलबारदेखि नै कर्मचारी आवतजावत गर्न पाएका छैनन् । सहश्रधारा, अर्मादीसहित १३ किमी सडक खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेर कार्यालय जानसमेत नपाएको उनिहरुले गुनासो गरे । असार मसान्तमा कार्यालयमा चाप बढी छ । यही समयमा कर्मचारीले आवतजावत गर्न पाएका छैनन् ।
“दुई घण्टासम्म पार गर्न खोजियो, पैदल जान पनि सकिएन”, कुश्मास्थित सरकारी कार्यालयका कर्मचारी कृष्णराज गौतमले भने, “काम धेरै थियो, सडक खुल्ने छाँटकाँट नदेखेपछि फर्कन बाध्य भयौँ ।”
फोन र इन्टरनेटसमेत नभएपछि जानकारी दिन नपाएको उनले गुनासो गरे। बुधबार रातिदेखि नै इन्टरनेट र टेलिफोन अवरुद्ध भएपछि बागलुङ, पर्वत र म्याग्दीतर्फ सम्पर्क विच्छेद भएको थियो ।
यो समस्या काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा पनि परेको छ । काठेखोलाका अधिकांश कर्मचारी र जनप्रतिनिधिसमेत सदरमुकामबाट जाने आउने गर्छन् । मध्यपहाडी लोकमार्गको बोक्सेमा पनि सडक अवरुद्ध भएपछि जनताको काम प्रभावित भएको छ ।
“आवतजावत गर्दा पहिराले जोखिम बढेपछि गाडी हिँडाउन सकिएको छैन”, गाउँपालिका अध्यक्ष अमर थापाले भने, “गाडी राखेर पैदल यात्रा गरिएको छ ।” पैदलयात्रासमेत जोखिमको भएको उनले गुनासाे गरे ।
काठेखोलाको गाउँपालिका केन्द्रदेखि रेश र लेखानी जाने सडक सातादेखि अवरुद्ध छ । लोकमार्गको बिहुँ खण्डमा पनि दैनिक दर्जनौँ पहिरो खसेर घण्टौं जाम हुने अवस्था छ ।
“गलकोटबाट आउँदै थियौँ, पहिराले सडक पार गर्न नसकेपछि घोडाबाँधेमा गएर बास बसियो”, जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुङ्गानाले भने, “भोलिपल्ट एकतर्फी सडक खुलेपछि मात्रै बागलुङ फर्कन सकियो ।”
अत्यावश्यक काम परेर गलकोट, बुर्तिबाङतर्फ यात्रा गर्नेले पनि सास्ती खेपिरहेका छन् । मुख्य सडक खुलाउन आयोजनाको चासो कम हुने गरेको छ । बागलुङ बजारदेखि कुश्मीसेरा जाने दुईवटै सडक अवरुद्ध छन् ।
गत वर्ष गलुवाबाट भकुण्डे जानेगरी खनिएको ग्रामीण सडकको पहिराले कालीगण्डकी करिडोर र कुश्मीसेरा सडक भत्केको छ । यो सडक बनेर सामान्य बन्न एक महीना बढी लाग्ने यात्रीले बताएका छन् ।
यी पहिराका विकल्पबारे अहिलेसम्म तालुक आयोजनाले सोच बनाएका छैनन् । यात्रीले सधैँ सास्ती खेप्ने गरेको पर्वतको सहश्रधारा र बागलुङको बोक्सेको विकल्प चाहिने स्थानीयको चासो छ ।
“वैकल्पिक बाटो भएन भने वर्षात्मा मात्रै हैन, हिउँदमा पनि जनताले दुःख पाउँछन्”, थापाले भने, “पहिरो नचल्ने गरी विकल्पको बाटो नभई भएन ।”
सहश्रधारा र बोक्सेमा पहिरो कोतरेर सडक बनाउने पद्दतिको विकल्पमा पुल वा बाढी पहिरो सजिलै तर्कने प्रविधि बनाउनुपर्ने उनले सुझाव दिए । दैनिक एम्बुलेन्स, दूध तथा पानीजन्य पदार्थको ढुवानी, दमकल, नियमित कर्मचारी आवतजावत गर्ने सडक अवरुद्ध हुँदा धेरै दुर्घटनासमेत भएको टिप्पणी बढेको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत भारत सिद्धिशाही संयुक्त निर्माण कम्पनीका आयोजना व्यवस्थापक शिव लामिछानेले भने, “केही स्वार्थ बाझिएका र नियतवश बाटोमा पानी लगाइदिनेले सधैँको सास्ती भएको देखिन्छ ।”
बागलुङको मूलपानीतर्फको पानी खोल्सामा तर्काउनुपर्नेमा बोक्से गैह्रामा तर्काइदिँदा पहिरो र जोखिम बढेको उनले टिप्पणी गरे ।
पानीको निकासभन्दा जथाभावी पानी तर्काउनेले ४०० मिटर खण्डको सिङ्गो पहाडै खस्ने खतरामा पुगेको उनले बताए । उक्त खण्डमा सडक ढलान गर्ने योजन बनाएको तर मध्यपहाडी लोकमार्ग आयोजनाले लागत अनुमान परिवर्तन नगरिदिएको उनले टिप्पणी गरे । रासस