रुकुमपूर्व : रुकुमपूर्वको सिस्ने गाउँपालिकाले पञ्चवर्षीय आवधिक योजना तयार गरेको छ । यसका लागि गत चैत ५ र ६ गते परामर्श गोष्ठी समेत सम्पन्न भएको थियो ।
योजना निर्माणका लागि सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुका विज्ञ टोलीलाई जिम्मा दिइएको थियो । उक्त संस्थाले गाउँपालिकाको समग्र विकासका लागि विविधपक्ष समेटर योजना निर्माण गरेको हो ।
योजना निर्माण गर्न संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले आर्थिक सहयोग रहेको थियो । आगामी आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८२/०८३ सम्मका लागि अन्तिम रुप दिएर निर्माण गरिएको आवधिक योजनामा कृषि, पर्यटण, उद्योग प्रवर्दन, योग्य र दक्षजनशक्ति उत्पादन, आधारभूत स्वास्थ्य सुविधाको उपलब्धता समेटिएको गाउँपालिका अध्यक्ष कुमारी बराल (गौतम)ले जानकारी दिइन् ।
उनका अनुसार दिगो भौतिक पूर्वाधार विकास, जनताको पक्षमा समर्पित शासकीय प्रबन्ध, व्यक्तिको आवरणमा उच्च नैतिक प्रदर्शन र बस्तीको सौन्दर्यको सन्दर्भलगायतका विषय गाउँपालिकाको पञ्चवर्षीय आवधिक योजनामा समेटिएको उनले बताइन् ।
गाउँपालिकाले यस अघि तयार गरेको गुरुयोजनामा समेटिएको विषय र पक्षलाई विश्लेशन गरी दीर्गकालीन हुने गरी केही थप लक्ष्य, उद्देश्य र रणनीति समेटेर पञ्चवर्षीय आवधिक योजना बनाइएको छ ।
‘समृद्ध सिस्ने हाम्रो गन्तव्य’ भन्ने मूल नारालाई आत्मसाथ गरी समग्र रुपमा गाउँपालिकाको विकासका लागि आवधिक योजनाले ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।
विकास निर्माणदेखि लिएर हरेक काम गर्दा ठोस् योजना बनाएर गरियो भने कार्यान्वयन गर्न सहज हुने भएकाले पनि गाउँपालिकाले पञ्चवर्षीय आवधिक योजना निर्माण गरेको हो ।
पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन प्रवद्र्धनलगायतका विषयमा छलफल गरी आवधिक योजनालाई पूर्णता दिइएको हो । रासस