बुटवल - असार सुरु भएदेखि बुटवलमा लगातार जसो बर्षा भइरहेको छ। एकैछिन बर्षा हुँदा बुटवलका सडक डुवानमा पर्ने गरेका छन् । जसका कारण सवारी तथा यात्रुहरुले निकै कष्ठकरपूर्ण यात्रा गर्नु परेको छ ।
एकैछिन वर्षा हुँदा पनि बुटवलको राजमार्ग चौराहदेखी उत्तर तर्फ मिलनचोक, बसपार्कसम्म सडकमा पानी जम्मा हुने गर्दछ । विगतमा पनि वर्षा हुँदा यो सडकमा पानी जम्मा हुने गरेको थियो । समस्या विगतदेखिको भएपनि बर्षाको पानीलाई सुरक्षित निकास दिन न डिभिजन सडक कार्यालयले ध्यान दिएको छ, न त बुटवल उपमहानगरपालिकाले नै ।
डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले अस्पताललाईन तथा पुष्पलालपार्कबाट दायाँ र बायाँ जाने पानीको निकास बन्द हुँदा सडकमा पानी जम्मा हुने गरेको बताए। ‘गोलपार्कतिरबाट बगेर आएको पानी सबै सडकमा आएको छ । अस्पताललाईनबाट एउटा ठूलो पाइपबाट तिनाउ खोलामा र पुष्पलालपार्कबाट चाँदबारी तिरको सुख्खाखोलामा फाल्ने गरिएको छ । तर अहिले त्यता जाम छ ।’ उनले भने ‘त्यसको समाधानको लागि उपमहागनरपालिकासँग छिट्टै छलफल गर्छौं । उहाँहरु र हामी मिलेर नै सफाइ गर्नुपर्छ । ’
बर्षासँगै गोलपार्कदेखी अस्पताललाईन, मिलचोक हुँदै बग्दै आएको पानीले चौराहसम्म पुग्दा पनि सडक बाहिर जाने निकास पाउँदैन । निकास नपाउँदा सडकमा पानी नै पानी हुने गरेको छ ।

तर, उपमहानगरपालिकाले भने सडकमा पानी जम्मा हुने समस्याको हल आफूले नभई सडक डिभिजनले नै गर्नुपर्ने बताएको छ । उपमहानगरपालिकाका शहरी पूर्वाधार तथा विकास महाशाखाका प्रमुख सुमन श्रेष्ठले यसमा आफूहरुको भूमिका खासै नहुने बताए। ‘राष्ट्रिय राजमार्गमा भएको समस्यामा सडक नै जिम्मेवार हुन्छ । उपमहानगरको भूमिका त न्युनतम मात्र हुन्छ ।’ उनले भने ‘सडक विभागले सडक बनाउँदा उचित पानीको निकास नबनाउँदा समस्या समस्या भएको हो । चौराहदेखी गोलपार्कसम्मको सडक विस्तार अघि बढाउँदा नालाहरु पुरिएको छ ।’
सडक फराकिलो भएपनि त्यस अनुसारको नाली बनेका छैनन् । त्यस माथि धेरै समयसम्म नाली सफा नहुँदा झन साँघुरो भएको छ । त्यसबाहेक सडक विस्तारका क्रममा घरहरु भत्काउँ पनि नालीमा परेर जाम हुने गरेको छ । ‘भत्केका टुक्राहरु हामीले नालीमा नफाल्न भनिरहेका छौं । त्यसको सफा पनि गर्न लगाउँछौं ।’ डिभिजन सडक कार्यालयका प्रमुख जयलाल मरासिनीले भने ‘सिडीयो कार्यालयमा ठेकदारसँग बसेर पनि कुरा भएको छ । १० दिन भित्र व्यवस्थापन गर्छु भनेको छ।’
सडकका नाली व्यवस्थापनसँगै राजमार्ग चौराहमा जम्मा भएको पानीको निकासको पनि व्यवस्थापन हुनुपर्ने छ । चौराहा पूवतिर राजमार्ग विस्तारको काम भएको छ। राजमार्ग विस्तारको क्रममा पानीको निकासको लागि ठूलो नालि बनाउन आफूहरुले सडक आयोजनालाई भनेको उपमहानगरपालिकाका शहरी पूर्वाधार तथा विकास प्रमुख सुमन श्रेष्ठले बताए । ‘यसको स्थायी निकास भनेको धागो कारखाना नजिकको खोलामा लगेर फाल्नु हो। त्यसको लागि हामीले नारायणगढ बुटवल सडक आयोजनालाई कागजपत्र सहित भनिसकेका छौं ।’ उनले भने ।
