झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ ।
नगरको वर्तमान जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेट भएको हुँदा यसअघिका सबै अधुरा विकासे परियोजना नयाँ आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ विकास निर्माणमा बजेट विनियोजन गरिएका छन् ।
निरोगी शहर दमक
दमक नगरपालिकाले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा बजेटमा नगरलाई ‘निरोगी शहर’ बनाउने प्रण गरिएको छ । पच्चीस शय्यामा सञ्चालन भइरहेको दमक अस्पताललाई आगामी आवमा ५० शय्यामा विस्तार गरिने र त्यसको सञ्चालनमा लाग्ने रु ११ करोड नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने नगर उपप्रमुख गीता अधिकारीले बताइन् ।
कोभिड–१९ को सङ्क्रमणबाट नगरवासीलाई जोगाउन विपद् व्यवस्थापन कोषमा रु दुई करोड ५० लाख बजेट छुट्याइएको र अग्रपङ्क्तिमा रही काम गर्दै आएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुविधा र प्रोत्साहन दिइने उनले बजेटमा उल्लेख गरेकी छन् ।
घरमै सुत्केरी गराउने कार्य शून्यमा पुर्याउने लक्ष्य लिएर सुत्केरीलाई अस्पताल पुर्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था नगरपालिकाले मिलाउने भएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरघरमै पुर्याइने जनाइएको छ ।
महिलाको पाठेघर र स्तन क्यान्सर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको र विपन्न, दलित तथा आदिवासी जनजातिका लागि मुटु, मिर्र्गौला र क्यान्सरसम्बन्धी रोगको उपचारमा नगरपालिकाले आर्थिक सहायता प्रदान गर्ने नीति लिएको उपप्रमुख अधिकारीले बताइन् । नगरवासीलाई निःशुल्करूपमा कोरोनाविरुद्धको खोप छिटो लगाउन सङ्घीय र प्रदेश सरकारसँग पहल गर्ने तथा नयाँ आवमा ७०० गरिब परिवारको स्वास्थ्य बीमा गराउन लाग्ने शुल्क नगरपालिकाले व्यहोर्ने भएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई ६० वर्षे उमेर हद पूरा गरेपछि एकमुष्ठ रु ६० हजार निवृत्तिभरण उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ ।
नगरपालिकाले नगरभित्रका सञ्चार माध्यममा कार्यरत सबै पत्रकारको स्वास्थ्य बीमा गरिदिने र सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराएर मासिक रकम प्रदान गर्ने भएको छ ।
‘मनमोहन भत्ता’को शुरुवात
सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिएजस्तै दमक नगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई वार्षिक रु दुई हजारका दरले ‘मनमोहन अधिकारी स्मृति सामाजिक सुरक्षा भत्ता’ प्रदान गर्ने भएको छ ।
ज्येष्ठ नागरिकको मोतियाविन्दु र प्रोस्टेटको उपचार नगरपालिकाले निःशुल्करूपमा गरिदिने भएको छ भने सबै वडामा ज्येष्ठ नागरिकको भेटघाट र बसिबियाँलो गर्ने थलोका रूपमा ज्येष्ठ चौतारी निर्माण गरिने जनाइएको छ ।
नगरभित्र सञ्चालित निजी अस्पताल, स्वास्थ्य क्लिनिक, होमियो र आयुर्वेदिक क्लिनिकमा परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क बनाइने भएको छ ।