बुटवल - रुपन्देहीमा मंगलबारबाट निषेधाज्ञा थप खुकुलो बनाएर जोर विजोर प्रणालीबाट सार्वजनिक सवारी चल्न दिइएको छ । तर पहिलो दिन रुपन्देहीमा निकै कम सार्वजनिक सवारी सडकमा देखिए । दोस्रो दिन बुधबार पनि कता कती मात्र बस चलेका छन् ।
पश्चिम नेपाल बस व्यवसायी प्रालीका प्रबन्धक रामचन्द्र भुसालले पहिलो दिन २०–३० वटा मात्र गाडी सडकमा निस्केको बताए । ‘अस्ती साँझ मात्र खुल्ने भन्ने निर्णय भयो । त्यसैले हिजो धेरै गाडी मर्मतको लागि ग्यारेजमा गए ।’ उनले भने ‘बुटवल–भैरहवा, बुटवल–सालझण्डी, भैरहवा लुम्बिनी गरेर २०–३० वटा मात्र गाडी चलेका थिए। आज पनि त्यही संख्यामा गाडी चलेका छन्।’ पूर्वतिर सडक भत्केकाले गाडी नचलेको भुसालले बताए ।
न्युन संख्यामा बस चलेको भएपनि यात्रुहरु नगन्य मात्रामा थिए। मंगलबार बुटवल–सालझण्डीको सडकमा पहिलो पटक बस निकालेका व्यवसायी डोरनाथ ढकालले बसमा मुस्कीलले ५–७ जना मात्र यात्रु रहेको बताए । ‘हिजो विजोर गते भएकाले मेरो गाडी निकालेको थिए। आज भने चलाउन मिलेन ।’ उनले भने ‘यात्रु त एक दम न्युन थिए । एक त यात्रुहरुलाई खुलेको थाह पनि भएन, दोस्रो रोपाइँको बेला, तेस्रो कोभिडको सन्त्रास अझै छ ।’ थोरै यात्रु राखेर गाडी चलाउँदा तेल खर्च पनि उठ्न मुस्कील भएको ढकालले बताए ।
पश्चिम नेपाल बस व्यवसायी प्राली अन्तर्गत लामो, मध्यम तथा छोटो दुरीमा गरेर दैनिक १२ सय क्युमा गाडी सञ्चालन हुने गर्दछ । बुटवल भैरहवा रुटमा मात्र चार सयको हाराहारीमा बसहरु छुट्ने गर्दछन्। ‘झण्डै २–२ मिनेट जसोमा बुटवल भैरहवा गाडी चल्छन् । विहान ५ बजेबाट बेलुकासम्म दैनिक झण्डै ४ सयको हाराहारीमा ओहोर दोहोर गर्छन्।
आवश्यक गाडी सडकमा निस्कन अझै केहिदिन लाग्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले बताए । ‘गाडीलाई पहिले ग्यारेजसम्म पु¥याउन प¥यो । गाडी मालिकले ऋण धन गरेर भएपनि पहिले मर्मत गर्नुपर्यो ।’ उनले भने ‘हाम्रो संस्थाले पनि गाडी सडकमा ल्याउन सहजिकरण गर्छ ।’
उता गाडीको मर्मत केन्द्र मैनाबगरको अटो भिलेजमा सार्वजनिक सवारी खुलेसँगै चहलपहल बढेको छ । ‘केहिदिन यता साना गाडी आउन थालेका थिए । हिजोबाट बसहरु पनि मर्मतको लागि आउन थालेका छन्।’ बुटवल अटो इन्जिनियरिङ एशोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले भने ।
लामो समय गाडी थन्क्याउँदा व्याट्रि डाउन लगायत अरु समस्या हुने गर्दछन् । ‘चलिरहेको गाडिले फटाफट लोड पनि लिन्छ। नचल्दाखेरी व्याट्रिले लोड पनि लिन पाएको हुँदैन ।’ एशोसिएनका अध्यक्ष पाण्डेले भने ‘व्याट्रि डाउन भएका गाडीको लागि यहाँबाट मिस्त्री पठाएर, अर्को व्याट्रि राखेर मर्मत गर्न यहाँ ल्याउनुपर्छ।’ धेरै दिन नचल्दा गाडीको इन्जिन जाम हुने, पाट पुर्जामा खियाँ लागेर राम्रोसँग चल्न नसक्ने जस्ता समस्या हुने उनको भनाई छ ।
रुपन्देहीमा प्रशासनले सार्वजनिक यातायात चलाउन आदेश दिएपनि तत्काल यातायात व्यवसायीलाई कुनै फाइदा नहुने पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधि खरेलको भनाइ छ । ‘बन्दको नाममा खुल्यो अरे भन्ने हो । यातायात व्यवसायीलाई कुनै हर्ष उल्लाश छैन।’ उनले भने ।
खरेलले आफूहरुसहित यातायात व्यवसायीहरुले केन्द्रमा अर्थमन्त्री र गभर्नरहरुसँग छलफल समेत गरेको बताए । ‘यातायात क्षेत्र अति प्रभावित क्षेत्रमा पर्यो भन्ने हाम्रो कुरा हो । अन्य उद्योग भन्दा हामी व्यवसायीहरुबाट बैंकले चर्को व्याज लिन्छ । त्यस बारेमा आगामी मौद्रिक सम्बोधन गरोस भनेर कुरा राख्यौं ।’ उनले भने ‘अर्थमन्त्रीज्यु हाम्रो कुरामा पोजेटिभ हुनुहुन्छ। हाम्रै अगाडी उहाँले गभर्नरलाई समाधान गर्नुस भनेर भन्नुभएको थियो।’