दाङ : दाङका कृषकले पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन् ।
अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुलीलगायतका धान रोप्ने गर्दथे ।
अहिले ती सबै जातका रैथाने धाने लोप हुँदै गएका छन् । पछिल्लो समयमा हाइब्रेड धानको बीउ प्रयोगमा आएपछि रैथाने धान लोप हुनथालेको किसान बताउछन् । यहाँका किसानले साबित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगातका वर्णसङ्कर जातका धान लगाउदै आएका छन् ।
यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धान लगाउने गरेका छन् । रैथाने धान राधा सात, मन्सुली, तिल्कीजस्ता धानले कम उत्पादन दिने भएकाले हाइब्रेड जातका धान रोप्ने गरेको किसान बताउछन् । कृषि ज्ञान केन्द्र कार्यालय दाङको तथ्याङ्कअनुसार दाङ जिल्लाको कुल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर रहेकोमा खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टर रहेको छ ।
दाङमा धान खेती हुने कुल जमिन ६५ हजार ९८० हेक्टर रहेको छ । दाङमा बाह्रै महिना सिँचाइ हुने क्षेत्र १९ हजार ६५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए ।
मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार २११ हेक्टर रहेको छ । यसवर्ष समयमा पानी परेकाले उक्त जमिनमा बाली उब्जनी हुने र बाँझै नरहने सङ्केत देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस