बैतडी : लगातारको वर्षाका कारण पहिरो जाँदा बैतडीका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण सडकहरुमा पहिरो खस्नुका साथै हिलाम्य भएको हुनाले सवारी साधन सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।
वर्षाकै कारण शिवनाथ गाउँपालिकाका ग्रामीण सडकहरु अवरुद्ध भएको गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिए । उनले भने, “सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा बाधा पुगेको छ, वडा कार्यालयहरुसँग जोडिएका सडकहरु पहिरो र हिलाम्मे छन् । ”
वर्षाका कारण जिल्लाको पाटन–पञ्चेश्वर, सतबाँझ–सुर्नया, ढोल्यामोड–सुर्नया, ढोल्यामोड–पुर्चौंडी, देहीमाण्डौं–गिरेगडा, पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनसेरीमाडौँ सडक, देहीमाडौँ–दुर्गाभवानी सडक, देहीमाडौँ–सुरकाल सडक लगातारको वर्षाका कारण अवरुद्ध भएका हुन् । यीबाहेक अन्य ग्रामीण सडकहरु पनि अवरुद्ध बनेका छन् ।
स्तरोन्नतिका काम भइरहेको सतबाँझ–सुर्नया सडकमा जम्मा भएको माटो वर्षाले बगाउँदा सवारी आवागमनमा समस्या भएको अस्थायी ट्राफिक पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए । उनले भने “लगातारको वर्षाले सडक हिलाम्य छन् , कुनैकुनै ठाउँमा पहिरो पनि खसेको छ, गाडी चलाउन मिल्ने अवस्था छैन ।”
कच्ची सडकहरुमा वर्षातको समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन् । सञ्चालनमा रहेका कच्ची सडकहरुमा गाडी चलाउन निकै मुस्किल भएको यातायात व्यवसायीहरुले बताएका छन् ।
वर्षाका कारण सडक हिलाम्मे हुँदा सवारी सञ्चालनमा समस्या भइरहेको जीप चालक नरेन्द्र विष्टले जानकारी दिए । उनले भने, “कच्ची सडक त्यसैमा लगातारको पानीले गर्दा समस्या भएको छ ।” रासस