कपिलवस्तु : कपिलवस्तुमा बाख्राको गोठबाट प्रहरीले गोली र बारुद बरामद गरको छ ।
हातहतियार लुकाएको छ भन्ने सूचनाका आधारमा खोज तलासि गर्दा प्रहरीले कृष्णनगर नगरपालिका–८ लोहरौला बस्ने अस्लम मुसलमानको बाख्राको गोठको छाना मुनी बोराभित्र लुकाएर राखिएको बन्दुक, गोली र बारुद प्रहरीले बरामद गरको हो ।
इलाका प्रहरी कार्यालय बहादुरगञ्ज र इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले गोठबाट दुई थान बाह्रबोर बन्दुक, पाँच थान जङ्गी राउन्ड गोली, ११ थान बाह्रबोर बन्दुकको पड्किएको खोका, तीन सय ग्राम बारुद जस्तो देखिने कालो धुलो, ५७ वटा छर्रा र जनावरलाई पासो लगाउन प्रयोग गरिने तीन वटा जाल प्रहरीले बरामद गरेको हो ।
उक्त घरका मुली अस्लम मुसलमानको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्तै सुनसरी, बराह क्षेत्र नगरपालिका २ तेह्रअर्डीको विश्वकर्मा मन्दिर नजिकै झाडीमा बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।