काठमाडौं । फेरि बाढी जान सक्ने संकेत पाएपछि सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्रलाई प्रहरीले पुनः खाली गराएको छ । मेलम्ची नदीमा पुनः पानीको सतह बढ्न थालेपछि प्रहरीले बजार क्षेत्र खाली गराएको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची र गोरेखोलाको संगमस्थल आसपास पहिरोका कारण नदी पुनः थुनिएको अनुमान गरिएकाले अध्ययन गर्न टोली खटाइएको जानकारी दिए ।
मेलम्चीका इन्स्पेक्टर तिलक राईले पनि पहिरो खसेको अनुमान गरिएकाले पुनः बाढी आउन सक्ने भएकाले बजार क्षेत्र खाली गराइएको बताए । खोलामा पुनः पानीको सतह बढेपछि मंगलबार रातिको बाढीपछि आफ्ना सामान हेर्न घरतर्फ प्रवेश गरेका स्थानीय फेरि त्रसित बनेका छन् ।
यति बेला मेलम्ची बजारबाट पाँचपोखरी गाउँपालिकातिर जाने सडक पूरै अवरुद्ध छ । बाढीले तटवर्ती क्षेत्रका बिजुलीका पोल ढलेकाले बत्ती छैन भने टेलिफोन सेवा पनि अवरुद्ध छ । यस्तै हेलम्बुतर्फको सडक पनि बाढीका कारण क्षति पुगेको छ ।
मंगलबार आएको बाढीमा परी ७ जनाको निधन भएको छ ।