पाल्पा-अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ ।
डुम्रे खोलामा बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्गको जगैबाट बगाएको छ । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको खसेको थियो । मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।
सिद्धार्थ राजमार्ग मंगलबार बेलुकीदेखि नै अवरुद्ध भएको छ । सडकमा वर्षा नरोकिएकाले सडक डिभिजनले ठूला उपकरण लगाएर काम गर्न सकेको छैन । मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् ।
साना ठूला सवारी साधन तराई र तराईबाट पहाड आउन सकेका छैनन् । पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकको हुमिन र चापगैरामा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।