बुटवल । रुपन्देहीसहित देशभर १७ वटा जिल्लामा निषेधाज्ञा थप भएको छ । डेढ महीनाबाट लागू गरिएको निषेधाज्ञा थपिएको हो ।
कोभिड–१९ नियन्त्रणका लागि मध्य वैशाखबाट निषेधाज्ञा लगाउन थालिएको थियो । रुपन्देही र काठमाडौंमा बैशाख १६ गतेदेखि निषेधाज्ञा थप भएको थियो ।
अहिले रुपन्देही, काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लम्ब्याएर ७ असारसम्म पु¥याइएको छ । यी जिल्लामा केही खुकुलो गर्न थालिएको छ ।
गृह मन्त्रालयका अनुसार, सोमबारसम्म देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ । धेरैजसो जिल्लामा आज राति १२ बजे निषेधाज्ञा सकिँदै छ । केही जिल्लाले निषेधाज्ञा थप्ने निर्णय गरिसकेका छन् ।
अहिलेसम्म १७ जिल्लामा एक साता थपेर ७ असारसम्म निषेधाज्ञा जारी गरिएको छ । जसमा रुपन्देही, काठमाडौं, भक्तपुर, ललितपुर, बागलुङ, डडेल्धुरा, उदयपुर, कालिकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, नवलपरासी पूर्व, तनहुँ, बारा, इलाम, मुस्ताङ र अछाममा निषेधाज्ञा थपिएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, दार्चुलामा १० असारसम्म निषेधाज्ञा थपिएको छ । गोरखामा ५ असार, पर्सामा ६ असार, चितवनमा ३ असार, सल्यान र रामेछापमा २ असारसम्म निषेधाज्ञा जारी रहेको छ । अहिलेसम्म मनाङ र खोटाङमा मात्रै निषेधाज्ञा हटेको छ । अन्य जिल्लामा भने फेरि थप्ने तयारी भइरहेको जनाइएको छ ।