बुटवल । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका सचेतक फकरुद्धिन खानले बैशाख १९ गते मुख्यमन्त्रीको नियुक्तिपछि प्रतिपक्षका सांसदमाथि भएको 'दुर्व्यवहार'को विरोध गर्दैै प्रदेश प्रमुखलाई बहिस्कार गरिएको स्पष्टिकरण दिएका छन् ।
नीति कार्यक्रममाथि छलफलका क्रममा आज प्रदेश सभामा आफ्ना भनाई राख्दै सचेतक खानले प्रदेश प्रमुखलाई सम्मान गर्नुपर्ने नदेखेको भन्दै मुख्यमन्त्री शंकर पोखरेललाई जवाफ दिएका हुन् ।
केहीबेर अघि मुख्यमन्त्री शंकर पोखरेलले सोही बैठकमा राखेको वक्तव्यप्रति लक्षित गर्दै सचेतक खानले भने–‘बैशाख १९ गते प्रदेश सभाका माननीयमाथि जुन भएको दुव्र्यवहार र धरपकड भएको थिया, त्यो घटनाले गर्दा विपक्षी गठबन्धनका सबै माननीय सदस्य (प्रदेश सभामा) बसेर उहाँ(प्रदेश प्रमुख)लाई सम्मान गर्नुपर्ने देखिएन ।’
गत मंगलबार प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रतिपक्षी दलका सचेतक बाहेक अन्य सांसदहरुले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए । सोही घटना प्रति लक्षित हुँदै केहीबेर अघि मुख्यमन्त्री पोखरेले नीति कार्यक्रम पेश भइरहँदा प्रतिपक्षका सांसद उपस्थित नहुँदा देखिएको सत्तापक्षको उपस्थितीले सरकारसँग बहुमत रहेको देखिएको जिकिर गरेका थिए ।
त्यस्तै सचेतक खानले सरकारले ल्याएको नीति कार्यक्रम ‘सुन्दर र आकर्षक देखिने हावाले भरिएको, रंग विरंगले भरिएको बेलुन जस्तो देखिएको’ बताए । उनले नीति कार्यक्रमलाई शब्दजालले भरिएको दस्तावेज रहेको आरोप लगाए ।
सचेतक खानले प्रदेश सरकारले बजेट ल्याउँदा प्रदेशको औचित्य स्थापना हुने गरी ल्याउन पनि आग्रह गरे । उनले भने–‘सरकार देखिने, खोजिने र भेटिने अवस्थामा छैन । त्यसैले अब निर्वाचनमा जाँदा प्रदेशको औचित्य स्थापनाका निमित्त ठोस कदम चाल्नु पर्दछ र हामी पनि प्रतिपक्षीका नाताले सहयोग गर्छौं ।’