बुटवल । लुम्बिनी साँस्कृतिक नगरपालिकाको वडा नं १ का स्थानीयले निषेधाज्ञामा सर्वसाधारणमाथि निकै कडाई भएको भन्दै विरोध प्रदर्शन गरेका छन् । शनिबार दिउँसो वडा नं १ स्थित खुनगाई चौराहामा स्थानीयहरुले टायरबालेर विरोध गरेका हुन् ।
लामो समयदेखिको निषेधाज्ञाले स्थानीयलाई जिविका चलाउन गाह्रो भइरहेको भएपनि स्थानीय प्रशासनले निषेधाज्ञालाई अझै कडा बनाउँदैं लगेको उनीहरुको आरोप छ ।
खुुनगाई चौराहाका स्थानीयले भोलीदेखि निशेधाज्ञा उल्लंघन गर्ने चेतावनी दिएका छन् । उनीहरुले विरोधस्वरुप भोली आइतबार नगरपालिकाको कार्यालय घेराउ गर्ने पनि बताएका छन् ।
विरोधमा उत्रेका अर्जुन कुर्मीले भने–‘भोली बिहान १० बजेदेखि यहाँका पसल, व्यवसाय खोल्ने र त्यसपछि नगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको छ ।’
उनले निशेधाज्ञाको नाममा स्थानीयालाई त्रसित पार्ने काम भएको आरोप लगाए ।
यता नगरपालिकाले भने पूर्वाग्रह राखेर केही व्यक्तिहरुले विरोध गरेको बताएको छ । नगरप्रमुख मनमोहन चौधरीले ‘माटो खन्न नदिएको झोकमा केही व्यक्तिहरुले निशेधाज्ञाको नाम पारेर विरोध गरिरहेको’ बताए । उनले भने–‘जेसीबी लगाएर माटो खनिरहेका बेलामा प्रशासनले रोकेपछि केही व्यक्तिहरुले विवाद निकालेका हुन् । देशभर जस्तै निशेधाज्ञा यहाँ पनि जारी छ । त्यसको उल्लंघन भएमा कानुन अनुसार जरिवाना हुन्छ ।’
उनले जनस्वास्थ्यलाई हेरेर सरकारले लागु गरेको निषेधाज्ञालाई केही व्यक्तिहरुले पूर्वाग्रह राखेर विरोध गर्न नहुने बताए । उनले भने–‘सबैको स्वास्थ्यसँग जोडिएको कुरा हो । कसैले विरोध गर्न पाउँदैन ।’
उनले विरोध गर्नेहरुसँग सम्पर्कमा रहेको बताउँदै समस्याको समाधान निकाल्ने बताए ।