बुटवल । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीमाथि विहीबार साँझ आक्रमण भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको थियो ।
लाठि चार्जसहित मृतकका आफन्त आक्रमण गर्न आएपछि डाक्टर र नर्सले एक तलामाथिको झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।
त्यसलगत्तै बिरामीका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक र स्टाफ नर्समाथि आक्रमण गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । ‘लाठीसहित आक्रमण गर्न आउनुभयो । एक तलामाथिको झ्यालबाट हाम फालेर साथीहरूले ज्यान जोगाउनुभयो,’ उनले भने ।
चार चिकित्सक र नर्सले माथिल्लो तलाको झ्यालबाट हाम फालेर ज्यान जोगाए । केही स्वास्थ्यकर्मीलाई आक्रमणकारीले लखेटेर कुटपिट गरे । ज्यान जोगाउन शौचालयमा लुकेका पिपिई लगाएका नर्सहरूलाई उनीहरूले घाँटी अठ्याउने र लात्तीले हानेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले अन्धाधुन्ध रूपमा तोडफोड र हातपात हुन थालेपछि चिकित्सकसहित स्टाफ नर्स काम छोडेर भागेको बताइन् ।
अस्पतालमा सुरक्षा दिइरहेका प्रहरीका हवल्दार निर्मल नेपालीका अनुसार मृतकका आफन्तले बिरामी कुरुवा, स्वास्थ्यकर्मीमाथि लाठीसहित हातपात गरेका थिए ।
अहिले भने अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा मृतकका भाइ मानबहादुर रावतसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बाँकेका एसपी ओमबहादुर रानाले बताए ।