बुटवल । मौसमसम्बन्धी अध्ययन गर्ने एक अन्तर्राष्ट्रिय मञ्चले आगामी मनसुनमा नेपालमा अधिक बर्षा हुने प्रक्षेपण गरेको छ ।
साउथ एसियन क्लाइमेट आउटलुक फोरम(साफकोफ)ले पछिल्लो अन्तर्राष्ट्रिय बैठकमार्फत् आफ्नो १९ औं प्रतिवेदन सार्वजनिक गर्दै जुनदेखि सेप्टेम्बर(मध्य जेठ–मध्य भदौ) सम्म सक्रिय रहने मनसुनमा नेपालमा अधिक बर्षा हुने प्रक्षेपण गरेको हो ।
दक्षिण एसियाली देशहरुका मौसमविद् तथा विज्ञहरुको सहभागितामा एप्रिल २६ देखि २८ मा आयोजना गरिएको भर्चुअल बैठकबाट जारी प्रतिवेदनमा हिमालयन गिरीपाद(अधिक भूभाग नेपालको) लगायत दक्षिण एसियाको मध्य र पश्चिम क्षेत्रमा अधिक बर्षा हुने बताइएको छ ।
भारतका अधिकांश भूभाग, दक्षिणी महाद्विप, उत्तरी म्यानमार, श्रीलंका, भुटान र पाकिस्तानमा भने सामान्य बर्षा हुने प्रतिवेदनमा उल्लेख छ ।
‘भौगोलिक हिसावले दक्षिण एसियाको उत्तर–पश्चिम क्षेत्र, हिमालय र उत्तर पूर्वी भूभागहरु र मध्ये क्षेत्रमा सामान्यभन्दा अधिक बर्षा हुने सम्भावना छ,’ प्रतिवेदनमा भनिएको छ ।
भौगोलिक क्षेत्र अनुसार आगामी मनसुनमा हुनसक्ने बर्षाको प्रक्षेपण । गाढा निलो रङ्ले सामान्यभन्दा माथि, हरियोले सामान्य र पहेँलोले सामान्यभन्दा कम बर्षा हुने जनाउँछ ।
यसरी गरिएको थियो प्रक्षेपण
नेपाल लगायत दक्षिण एसियाको मनसुन प्रशान्त महासागर तथा हिन्द महासागरको तापक्रममा भर पर्छ । त्यसबाहेक शिशिर र वसन्त मौसममा उत्तरी गोलार्थमा हुने हिउँको मात्रा लगायत जमिनको तापक्रमले पनि नेपाल लगायत दक्षिण एसियामा हुने मनसुनी बर्षालाई प्रभाव पार्छ । उक्त प्रभावलाई विभिन्न ‘स्केल’ मा नापिन्छ ।
साफकफको अनलाइन बैठकले यस्ता स्केललाई प्रभाव पार्नसक्ने मौसमी तत्वहरुको गहन विश्लेषण गरी दक्षिण एसियामा आगामी मनसुनमा सामान्य देखि अधिक बर्षा हुने प्रक्षेपण गरेको हो । बैठकमा दक्षिण एसियाका नेपाल, पाकिस्तान, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश र भारत लगायत जापान र कोरियाका ठूला मौसम वैज्ञानिकहरुको सहभागिता रहेको थियो ।
विश्लेषण अनुसार २०२० को दोस्रो अर्थबर्षमा भूमध्यरेखीय प्रशान्त महासागरको सामून्द्रिक सतहको तापक्रम सामान्यबाट उँदो घटिरहेको थियो । यस्तो अवस्थालाई ‘ला निना’ भनिन्छ । उनीहरुका अनुसार ‘ला नीना’ नोभेम्बरमा उच्च विन्दुमा पुगेको थियो । तर, त्यसपछि २०२१ को सुरुवाततिर आइपुग्दा ‘ला निना’ घटिरहेको छ, अर्थात् समून्द्र सतहको तापक्रम सामान्यतातर्फ फर्किरहेको छ । प्रतिवेदनमा भनिएको छ,‘पछिल्ला पूर्वानुमानहरुले यो क्रम अझै बढ्न सक्ने र आउने मनसुनभर इएनएसओ(इन्सो) तटस्थ रहने देखाएका छन् ।’
इन्सो समून्द्र सतहको तापक्रम सामान्यबाट कति बढ्यो या घट्यो भनेर देखाउने स्केल हो । ‘इन्सो तटस्थ हुनुभनेको सामान्य बर्षा हुनु हो । कुनै कुनै केशमा अरु क्षेत्रीय कारकहरु जस्तो हिन्द महासागरको स्थिती जस्ता कुराहरुले मनसुनलाई प्रभाव पार्न सक्छ,’ प्रतिवेदनमा भनिएको छ ।
बैठकले इन्सोबाहेक हिन्द महासागरको सामून्द्रिक सतहको तापक्रमको पनि विश्लेषण गरेको थियो । विश्लेषण अनुसार महासागरको दुई ध्रुवको सामुन्द्रिक सतहको तापक्रममा त्यती भिन्नता पाइएन अर्थात् इन्सो जस्तै आईओडी (ईण्डियन ओसियन डाइपोल)पनि तटस्थ पाइयो । र, आगामी मनसुन नसकिँदासम्म यस्तै रहने मौसमविद्हरुको प्रक्षेपण छ ।
यी दुई ‘स्केल’ तथा उत्तरी गोलार्थमा हिउँको मात्रा र जमिनको तापक्रमको विश्लेषण गरी सासकफमा सहभागि मौसमविद्हरुले आगामी मनसुनमा दक्षिण एसियामा कति बर्षा हुन्छ भनेर प्रक्षेपण गरेका हुन् ।
प्रक्षेपण अनुसार भारतको तामिल नाडु, जम्मु कस्मीर, बिहार, पश्चिम बंगाल, झारखण्ड, उत्तरपूर्वी भारत, अफगानिस्तान र योसँग जोडिएका पाकिस्तान र दक्षिण म्यानमारका भूभागहरुमा सामान्य बर्षा हुने बताइएको छ । सासकफको यो प्रक्षेपण भारतको मेटेरियोलोजिकल विभागको ‘लङ रेन्ज’ पूर्वानुमानसँग मिल्न गएको छ । भारतले यो महिनाको सुरुवाती दिनमा आफ्नो प्रक्षेपण निकालेको थियो ।