कपिलबस्तु- तान्त्रिक कामको लागि भन्दै महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने गिरोहलाई कपिलबस्तुमा प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड ५ मनहरपुर बुडन्तपुर स्थित माईतीघरमा बस्दै आएकी ४२ वर्षिय सरजहाँ दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले गिरोहका ६ जनालाई पक्राउ गरेको हो।
मानिसको हत्या गरी हातका औंलाहरू ल्याएमा प्रति औंला ७०÷८० लाख मुल्यमा बिक्री हुने भन्ने भ्रमपुर्ण हल्लाको बिश्वासमा परी महिलाको हत्या गरेको प्रहरीको भनाइ छ। हत्याको योजना बनाएर गत चैत्र १२ गते राती ८ बजे सरजहाँ दर्जीलाई अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं.३ हर्दिहवामा बोलाएका थिए ।
सरजहाँ दर्जी पुगेपछि ललाई फकाई शुद्धोधन गाउँपालिका वार्ड नं.६ बेतिया नदी छेउको चउरमा लगी केहीबेर गफ–गाफ गरेका थिए। सोही रात १० बजेतिर महिलाको घाँटी थिची हत्यागरी दुबै हातका औंलाहरु काटेका थिए। औलाहरु काटेर सवलाई बोरोमा राखी नदिमा फालेका थिए। सव पानी माथि नतैरियोस् भनेर उनीहरुले बोरामा चारवटा ढुंगा समेत राखीएको थियो। उनीहरुले मृतकका हातका औंलाहरू बिक्री गर्न विभिन्न व्यक्तीलाई दिएका थिए। प्रहरीले महिलाको हत्या गरि औंला काट्ने अब्दुल कलाम र बेलाल अहमद सहित गिरोहका अन्य चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलबस्तु शुद्धोधन गाउँपालिका ५ शिवालवा बस्ने ४५ वर्षिय कृष्ण कुर्मी, शुद्धोधन ५ विसनपुराका ५५ वर्षिय रामहरक यादव, रुपन्देही सैनामैना १ बनकट्टाका ६७ वर्षिय कर्ण बहादुर सुनार र नवलपरास मध्यबिन्दु नगरपालिका ७ घर भई बुटवल ९ शिबनगर डेरा गरी बस्ने ६७ वर्षिय खेम बहादुर मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी प्रमुख नवराज अधिकारीले बताए।
उनीहरुलाई जिल्ला अदालत कपिलवस्तुवाट संगठीत अपराध, कर्तव्य ज्यान तथा मानव बेचविखन तथा ओसारपसार कसुरमा म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक अधिकारीले बताए।